‘पारस’ पछि ‘एन्टी हिरो’ बन्छ : भुवन केसी



अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले यही फागुनबाट चलचित्र ‘एन्टी हिरो’ को छायांकन सुरु हुने बताएका थिए । तर, बीचमा अभिनेता अनमोल केसीले ‘ए मेरो हजुर ४’ साइन गरेपछि उनले चलचित्रको छायांकन बैशाखसम्मलाई रोके । उनले स्क्रिप्टमा काम भैरहेका कारण चलचित्रको छायांकन केही समय पछाडि धकेलिएको बताएका थिए । तर, यो चलचित्रको छायांकन फेरि पछाडि धकेलिएको छ ।

मंगलवार अभिनेता अनमोलले चलचित्र ‘पारस’ गर्ने फाइनल भएपछि ‘एन्टी हिरो’ को छायांकन तत्काललाई रोकिएको हो । ‘पारस’ को कथा तयार भैसकेको र राम्रो लागेका कारण अनमोलले यो चलचित्र अगाडि गर्न लागेको निर्माता भुवन केसीले जानकारी दिएका छन् । चलचित्रको निर्माण उनी आफैंले गर्दैछन् । भने, ‘लुट’ जस्तो ब्लकबस्टर चलचित्र बनाएका माधव वाग्लेले निर्देशन गर्नेछन् ।

तर, ‘एन्टी हिरो’ को छायांकन दोस्रो पटक पोस्टपोन्ड भएपछि अब यो चलचित्र निर्माण नहुने र ‘पारस’ मा ‘एन्टी हिरो’ का लागि अनुबन्ध भएकी अभिनेत्री जसिता गुरुङले अभिनय गर्न लागेको चर्चा चलेको छ । यस विषयमा अभिनेता भुवन केसीले आफ्नो मुख खोलेका छन् । उनले ‘पारस’ पछि ‘एन्टी हिरो’ निर्माण हुने बताउँदै जसिताको ‘पारस’ मा अभिनय नहुने स्पष्ट पारेका छन् ।

उनले भने, ‘अहिलेसम्म ‘एन्टी हिरो’ को स्क्रिप्टमा काम सकिएको छैन । स्क्रिप्ट पूर्ण रुपमा तयार नभइ फिल्म कसरी बनाउने ? स्क्रिप्टलाई बलियो बनाउन हामीले समय लगाएका हौं । तर, चलचित्र चाहिँ अवश्य बन्छ । र, जसिताको ‘पारस’ मा अभिनय रहने भन्ने हल्लामा सत्यता छैन । हामीले उनलाई ‘एन्टी हिरो’ का लागि अनुबन्ध गरेका हौं र यही फिल्ममा उनले अभिनय गर्नेछिन् ।’

‘पारस’ को स्क्रिप्ट बुलन्द रहेका कारण चलचित्र पनि उत्कृष्ट बन्ने उनको विश्वास छ । भुवनले थपे, ‘चलचित्रको स्क्रिप्ट मलाई र अनमोल दुवैलाई मनपर्‍यो । चलचित्रमा अनमोलको लुक्स र गेटअप केही परिवर्तन हुनेछ । तर, तौल घटबढ गर्नुपर्ने चाहिँ छैन ।’ उनले केही दिनमा फिल्मका लागि अभिनेत्रीको टुंगो लाग्ने बताए । उनका अनुसार, चलचित्रमा नयाँ अभिनेत्री हुने प्रवल सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu