‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘आमा’ शुक्रवारबाट प्रदर्शनरत छ । यो चलचित्रले अहिले दर्शक रुवाइरहेको छ । शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्रको व्यापार दिनप्रतिदिन उकालो लाग्दै गएको छ भने दर्शकबाट लोभलाग्दो प्रतिक्रिया मिलेको छ । समीक्षकले पनि चलचित्रलाई उत्कृष्ट भनेका छन् । चलचित्र हेरेका प्रायः दर्शक भावुक हुँदै फर्किएका छन् ।
‘वर्ड अफ माउथ’ उच्च रहेको चलचित्रलाई चलचित्र कर्मीहरुले पनि निकै रुचाएका छन् । बुधवार राजधानीको कुमारी हलमा निर्माण टिमले चलचित्रकर्मीलाई बोलाएर चलचित्र देखाएको थियो । चलचित्रले पाएको सकारात्मक प्रतिक्रियाका कारण पनि हलमा चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति देखिएको थियो । चलचित्र हेर्न पुगेका बरिष्ठ कलाकार नीर शाहले ‘आमा’ उत्कृष्ट बनेको बताए ।
‘जुन कथा लिएर जे बनाउँछु भनेर निर्देशक अगाडि बढ्नुभयो त्यसमा उहाँले कहीँ कम्प्रमाइज गर्नुभएन । जे बनाउँछु भन्नुभयो त्यही बनाएर देखाउनुभएको छ,’ उनले अगाडि भने, ‘जीवन आमा होइन भन्नेलाई बेग्लै अर्को कल्पनाको संसार होला । तर, जीवन आमा पनि हो भन्नेहरुका लागि एउटा क्लासिक चलचित्र बनेको छ । यसले नेपाली चलचित्र क्षेत्रलाई अझ अगाडि बढाएको छ ।’

चलचित्र निर्माता संघका अध्यक्ष तथा चलचित्र निर्माता आकाश अधिकारीले छोरी पनि छोरा बनेर देखाउन सक्छ भन्ने कुरा फिल्मले देखाएको बताए । निर्देशक खनाल गहिराइमा गएर चलचित्र बनाउने मेकर रहेको बताउँदै आफूलाई ‘पशुपति प्रसाद’ भन्दा पनि ‘आमा’ उत्कृष्ट लागेको उनको कथन छ । ‘निर्देशक दीपेन्द्र के. खनालको लेखन, निर्देशन र छायांकन गजब छ,’ उनले भने ।
चर्चित सञ्चारकर्मी रवि लामिछानेले आफू चलचित्र हेरेर वास्तवमै रोएको बताए । चलचित्र हेरिरहँदा ५/१० पटक दिवंगत आमालाई सम्झिएको बताउँदै उनले गहभरी आँशु पार्दै भने, ‘मेरो जीवनमा पनि चलचित्रले उठाएको जस्तै घटना घटेको थियो । म अमेरिकामा हुँदा आमा वित्नुभयो । तर, कागजी झमेलाले म आउन पाइनँ । जसले गर्दा मैले आमाको अन्तिम पटक मुख पनि हेर्न पाइनँ ।’
उनले चलचित्र हेर्दा आफूले पटक पटक आमालाई सम्झिएको बताए । उनले निर्देशक खनालको निर्देशकीय पाटोको प्रशंसामा पनि शब्द खर्चिए । निर्देशक खनाल नेपाली चलचित्र क्षेत्रको सिरियस मेकर रहेको बताउँदै ‘आमा’ हरेक घरको कथा रहेको उनको भनाई छ । त्यस्तै, उनकी श्रीमती तथा चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेलले पनि चलचित्र बुलन्द रहेको बताइन् ।
अभिनेत्री ऋचा शर्मा भने चलचित्र हेरेर निस्कँदा आफूलाई सम्हाल्न सकिरहेकी थिइनन् । उनी आँखाबाट बगेका आँशुका धारा पस्दै थिइन् । गएको पुषमा आमा गुमाएका कारण पनि उनलाई चलचित्रले कतिसम्म छोएको थियो भन्ने कुरा उनको आँखाबाट बगेका आँशुले अभिव्यक्त गर्थ्यो । दिवंगत आमालाई सम्झिएर भावुक भएकी उनी सञ्चारकर्मीको अगाडि बोल्न समेत सकिनन् ।
चलचित्र ‘आमा’ ले तीन आमाको कथा वाचन गरेको छ । एक मिथिला शर्मा, जो भर्याङबाट लडेर जीवन र मृत्युसित सङ्घर्ष गरिरहेका पतिको हेरचाहमा खटिएकी छन् । दोस्रो सुरक्षा पन्त, जो निसन्तान छिन् र टेस्ट ट्यूब बेबीको सहायताले आमा बन्नका लागि पैसाको जोह गर्दैछिन् । तेस्रो सरिता गिरी, जो आमा बनेर पनि बच्चा विरामी भएका कारण छुन समेत पाएकी छैनन् ।
निर्देशक खनालले तीन आमाको पीडालाई निकै मनछुने ढंगबाट प्रस्तुत गरेका छन् । अस्पतालले उपचारको नाममा गर्ने लुटलाई पनि चलचित्रले उदाङ्गो पारेको छ । छोरी छोराभन्दा कम हुँदैनन् भन्ने सन्देश पनि चलचित्रले दिएको छ । अस्पतालको मुर्दा घरमा श्रीमानको शवमाथि मुसाहरू कुदिरहँदा गेट बाहिरबाट श्रीमती (मिथिला शर्मा) ले मुसा धपाएको दृश्यले सबभन्दा बढी छुन्छ ।




