जेठ २३ मा ‘जारी’, पोस्टरमा यस्ता देखिए दयाहाङ र मिरुना



‘कबड्डी’ सिरिजका लेखक तथा चर्चित कवि उपेन्द्र सुब्बाको डेब्यू निर्देशित चलचित्र ‘जारी’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । आउँदो वर्षको जेठ २३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै शुक्रवार सार्वजनिक गरिएको चलचित्रको पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फिचर्ड छन् । पोस्टर हेर्दा चलचित्रमा उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ ।

सिनेमा आर्टस् र बासुरी फिल्मस्को ब्यानरमा निर्मित चलचित्रमा दयाहाङ र मिरुनासँगै प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, पुस्कर गुरुङ, कमलमणी नेपाललगायतका कलाकारहरुको अभिनय रहेको छ । शैलेन्द्र डि कार्कीले चलचित्र खिचेका हुन् । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले निर्माण गरेको चलचित्रको कथा निर्देशक सुब्बा आफैंको हो ।

निमेष श्रेष्ठको सम्पादन, झुमा लिम्बु र संगम पन्तको संगीत रहेको चलचित्रलाई स्टेशन फाइभ र मनोज राठीको कम्पनीले वितरणको जिम्मा लिएको छ । दयाहाङ र मिरुनाले पहिलो पटक स्क्रिन साझेदार गरेको र कवि सुब्बाको डेब्यू निर्देशित चलचित्र भएका कारण ‘जारी’ प्रति दर्शकले ठूलो अपेक्षा राखेका छन् । सार्वजनिक पोस्टरले पनि दर्शकमा चलचित्रप्रति कौतुहलता जगाउने देखिन्छ ।

चलचित्र ‘जारी’ मा देवराज मादेन, सृजना लिंग्लेकु, अल्भिन लिम्बु, पिटर गुरुङ, देवयानी राई र क्षितिज लावती सह-निर्माताको रुपमा रहेका छन् । कविबाट चलचित्र निर्देशकको परिचय बनाउन लागेका उपेन्द्र सुब्बाले यो चलचित्र उत्कृष्ट बनाउन आफूले कुनै कसर बाँकी नछाडेको दाबी गरेका छन् । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर चलचित्रलाई लिएर निकै उत्साहित छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu