अभिनेता अनमोल केसीविरुद्ध ठगीको अरोपमा प्रहरीमा उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध निर्माता द्वय जयन श्रेष्ठ र रुपेश खड्गीले उजुरी दिएका हुन् । चलचित्र ‘धुपौरे’ मा अभिनय गर्न ५ लाख रुपैयाँ एडभान्स लिए पनि चलचित्रका लागि समय नदिएको भन्दै निर्माता द्वय श्रेष्ठ र खड्गीले अनमोलविरुद्ध प्रहरीमा उजुरी दिएका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले अनमोलविरुद्ध उजुरी परेको पुष्टि गरेका छन् । अनमोलले गत असोज ३ गते ४० लाख पारिश्रमिक लिने गरी ‘धुपौरे’ मा अभिनय गर्ने सम्झौता गरेको उजुरीमा उल्लेख छ । सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी गरेपनि केसीले चलचित्र नखेलेर ठगी गरेको निर्माता द्वय श्रेष्ठ र खड्गीले दिएको उजुरीमा उल्लेख छ ।

चलचित्रमा अभिनय गर्नका लागि तीन महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै केसीले आफूहरुको थप २ लाख ५० हजार लिएको र चलचित्रका लागि तय भएका अन्य कलाकार तथा टेक्नेसियनलाई अग्रिम रकम ३० लाख दिन लगाइ उनी भने सम्पर्कमा नआएर आफूहरुलाई आर्थिक रुपमा क्षति पुर्याएको निर्माता द्वय श्रेष्ठ र खड्गीले प्रहरीमा दिएको उजुरीमा भनिएको छ ।
उजुरीमा अनमोल केसीका कारण भएको नोक्सानीको बिगो तथा कानुन बमोजिम क्षतिपूर्ति दिलाइदिन माग गरिएको छ । साम्तेन भुटियाले निर्देशन गर्ने भनिएको चलचित्र ‘धुपौरे’ का लागि लोकेशन खोज्न निर्देशकसँगै अनमोल पनि विभिन्न ठाउँमा पुगेका थिए । उनले चलचित्र छाड्नुको कारण स्क्रिप्टमा आएको परिवर्तन र छायांकनमा जान निर्माण टिमले गरेको हतारोलाई मानिएको छ ।




