नेपाली चलचित्रको विषयमा कलम चलाउने पत्रकारहरुलाई यतिबेला चुनाव लागेको छ । रङ्ग पत्रकारहरूको साझा संस्था चलचित्र पत्रकार संघ, नेपालको आठौं महाधिवेशन नजिकिँदै गर्दा चुनावी सारगर्मी उत्कर्षमा पुगेको हो । आउँदो चैत ३ गते हुन लागेको निर्वाचनका लागि चलचित्र पत्रकारहरुले उम्मेदवारी घोषणा गर्न सुरु गरेका छन् । केही भने उम्मेदवारी घोषणाको तयारीमा छन् ।

यसबीच, शनिवार ठूलोपर्दा डटकमका सम्पादक जीवन पराजुलीले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । डेढ दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय उनी चलचित्र पत्रकार संघ, नेपालका वर्तमान सह कोषाध्यक्ष समेत हुन् । अहिलेसम्म महासचिव पदमा पराजुलीभन्दा बाहेक अरुले उम्मेदवारी घोषणा गरेका छैनन् । यद्यपि, यो पदका लागि केही आकांक्षी भने छन् ।

पत्रकार जीवन पराजुलीले तीन वर्षे कार्यकालको मुल्यांकन गर्दै आफूले महासचिव पदमा उम्मेदवारी घोषणा गरेको शनिवार फेसबुकमा स्टाटस लेख्दै बताएका छन् । डेढ दशक लामो चलचित्र पत्रकारिताको दौरानमा एक दर्जनभन्दा बढी पुरस्कारबाट समेत सम्मानित भैसकेका उनी महासचिव पदका बलिया दाबेदार मानिएको छ । उनी आफ्नो जित हुनेमा विश्वस्त छन् ।




