सुदर्शन थापा निर्देशित यस वर्षको प्रतिक्षीत चलचित्र ‘म यस्तो गीत गाउँछु २’ गीतसंगीत र ट्रेलरका कारण चर्चामा छ । यो चलचित्रमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा प्रमुख भूमिकामा छन् । ‘म यस्तो गीत गाउँछु’ बक्सअफिसमा हिट भएका कारण यसको सिक्वेलले पनि आक्रामक व्यापार गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनभन्दा अगाडिको हाइप हेर्दा चलचित्रले हलमा ठूलो व्यापार गर्ने देखिन्छ ।
यही फागुन ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचारमा केही दिनयता पल र पूजा दर्शक फकाउन स्कुलदेखि महोत्सवसम्म धाउन थालेका छन् । बिहीवार काठमाडौंको एक स्कुलमा विद्यार्थीलाई फिल्म हेर्न आग्रह गरेका उनीहरु शुक्रवार सुर्खेत पुगेका थिए । त्यहाँ आयोजना भएको महोत्सवमा चलचित्रको प्रचार हेर्न पुगेका उनीहरुलाई हेर्न ५ हजारभन्दा बढीको भीड उर्लिएको आयोजकले जानकारी दिएको छ ।

पल र पूजा महोत्सवमा उपस्थित दर्शकलाई अभिवादन गर्न स्टेज चढ्दा हजारौंले एकसाथ हुटिङ गरेका थिए । त्यहाँ उनीहरुले चलचित्रको गीतमा एकसाथ नृत्य गरे । अभिनेता पलले आफ्नो घर दाङमा रहेको भन्दै सुर्खेत आउने चाहना पूरा भएकोमा खुसी व्यक्त गरे । सुर्खेतबाट फर्किएपछि पल र पूजा शनिवार काठमाडौंको सोल्टी होटलमा आयोजना भएको एक कार्यक्रममा पुगे ।
फेसन र म्यूजिकलाई समावेश गरेर एक कलेजले आयोजना गरेको कार्यक्रममा उनीहरु पुग्दा युवा(युवतीहरु निकै खुसी देखिएका थिए । यो कार्यक्रममा पनि पल र पूजाले चलचित्रको प्रचार गर्दै गीतमा नृत्य प्रस्तुत गरे । चलचित्र प्रदर्शनभन्दा अगाडिसम्म दर्शकसँग प्रत्यक्ष रुपमा जोडिने हरेक खालका कार्यक्रममा पल र पूजाले सहभागिता जनाउने निर्देशक सुदर्शन थापाले जानकारी दिए ।
म्यूजिकल लभस्टोरीमा निर्मित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले चलचित्रको कथा लेखेका हुन् । पूजा र सुदर्शन चलचित्रका निर्माता हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्र सौरभ लामाले खिचेका हुन् ।




