‘सेन्टी भाइरस’ को कमाई ४ करोडमाथि



गत हप्ताबाट प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित चलचित्र ‘सेन्टी भाइरस’ ले प्रदर्शनको ९ दिनसम्म ४ करोड ८ लाख ग्रस व्यापार गरेको राजधानीका वितरक गोविन्द शाहीले जानकारी दिएका छन् । यसमा राजधानीको २ करोड १० लाख ३ हजार र मोफसलको १ करोड ९० लाख ५ हजार योगदान छ । उनी ६ महिनादेखि हलमा दर्शक नआएर धरासायी हुने अवस्थामा रहेको नेपाली चलचित्र क्षेत्रलाई ‘सेन्टी भाइरस’ ले ठूलो आशा जगाएको बताउँछन् ।

वितरक गोविन्द शाहीले दोस्रो हप्तामा पनि चलचित्र देशभर ८० भन्दा बढी हलमा प्रदर्शन भैरहेको जानकारी दिए । उनले चलचित्रको कलेक्सन रिपोर्ट सार्वजनिक गर्दै भने, ‘छ महिनापछि ‘सेन्टी भाइरस’ ले हलमा दर्शकको भीड ल्याएको छ । दोस्रो हप्ताको शुक्रवार र शनिवार पनि चलचित्र देशभर हाउसफुल रह्यो । यसरी हेर्दा चलचित्र लामो रेसको घोडा बन्नेमा हामी विश्वस्त छौं ।’

चलचित्रका प्रमुख कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले भरतपुरमा निर्माणाधिन क्रिकेट रंगशाला निर्माण अभियानमा सघाउन चलचित्र हेर्ने सम्पूर्ण दर्शकलाई धन्यवाद व्यक्त गरे । उनले चलचित्रको आम्दानीको ५० प्रतिशत क्रिकेट रंगशालामा खर्चिने वाचा दोहोर्‍याउँदै हल व्यापार, डिजिटल राइट्स र ओभरसिज राइट्स मिलाएर चलचित्रमा लगानी भएको २ करोड ८५ लाख उठेको बताए ।

सितारामले भने, ‘जुन अभियानका लागि हामीले चलचित्र निर्माण गरेका थियौं अब हामी त्यसतर्फ अगाडि बढेका छौं । चलचित्रको लगानी सुरक्षित भैसकेको अवस्था छ । अब चलचित्रबाट हुने मुनाफाको ५० प्रतिशत रंगशाला निर्माणमा जानेछ ।’ प्रदर्शनको दुई दिन चलचित्रले आक्रामक व्यापार गरे पनि आइतबारपछि केही कन्फ्यूजले व्यापारमा घटबढ भएको उनको भनाई छ ।

उनी चलचित्रलाई समीक्षकबाट प्राप्त सल्लाह, सुझाव र प्रतिक्रियालाई आफूहरुले आत्मसात् गरेको बताउँछन् । ‘चलचित्रको समीक्षा गर्नु उहाँहरुको अधिकार हो । हामी त्यसलाई सहर्ष स्वीकार गर्छौं र त्यसप्रति कुनै गुनासो र दुखेसो छैन,’ उनले भने । आफूहरुको पहिलो प्रयासमा भएका कारण ‘सेन्टी भाइरस’ मा भएका कमी-कमजोरीलाई आगामी दिनमा हुन नदिने उनको वाचा छ ।

कलाकार सिताराम कट्टेलले अब आफू पूर्णरुपमा रंगशाला निर्माणमा खटिने र रंगशाला निर्माण भएपछि कलाकारितालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । ‘सेन्टी भाइरस २’ बन्ने सम्भावना कति छ ? भन्ने पत्रकारको प्रश्नमा उनले सिक्वेलभन्दा पनि आफू नयाँ चलचित्र लिएर आउने सोचमा रहेको बताए । उनले आफूहरुले भनेकै समयमा रंगशाला निर्माण हुने दाबी पनि गरे ।

सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित चलचित्र ‘सेन्टी भाइरस’ मा सितारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङ, कमलमणी नेपाललगायतका कलाकाहरुको अभिनय छ । चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । चलचित्रका सह-निर्माता फूर्पा लामा हुन् । चलचित्रको कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu