गएको दुई वर्ष अगाडि चलचित्र ‘कृ’ को निर्देशन गरेका सुरेन्द्र पौडेल यतिबेला नयाँ चलचित्रको तयारीमा छन् । चैत पहिलो हप्ताबाट छायांकन सुरु हुने बताइएको चलचित्रको यही बिहीवार औपचारिक निर्माण घोषणा गरिँदैछ । प्राप्त जानकारी अनुसार, चलचित्रको नाम ‘बेन्जो’ राखिएको छ । तर, निर्देशक पौडेलले चलचित्रको नाम र कास्टलाई लिएर कुनै जानकारी दिएका छैनन् ।
ठूलोपर्दालाई विश्वसनिय स्रोतले दिएको जानकारी अनुसार, चलचित्रमा ‘कृ’ फेम्ड अभिनेत्री अदिती बुढाथोकी र नयाँ पुस्ताका लोकप्रिय गायक नितेशजंग कुँवर अनुबन्ध भैसकेका छन् । नितेशले यही चलचित्रबाट हिरोको रुपमा डेब्यू गर्न लागेका हुन् । अदितीले भने ‘कृ’ पछि चलचित्र गरेकी छैनन् । उनी लामो समयदेखि भारतमा बसेर बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी छन् ।

अदिती चलचित्रको घोषणा कार्यक्रममा सहभागी हुन् र छायांकनका लागि मुम्बईबाट नेपाल ओर्लिसकेकी छन् । अहिले उनी र नितेश चलचित्रको वर्कसपमा व्यस्त रहेको जानकारी प्राप्त छ । चलचित्रको घोषणा लगत्तै गायक नितेश कन्सर्टका लागि अष्ट्रेलिया उड्दैछन् । उनी फागुन अन्तिमसम्म उतै हुनेछ । उनी अष्ट्रेलियाबाट फर्किएपछि चलचित्रको छायांकन सुरु हुने बताइएको छ ।
चलचित्र ‘बेन्जो’ मा अभिनेत्री अदिती बुढाथोकी टाइटल क्यारेक्टरमा हुने स्रोत बताउँछ । लभस्टोरी जनरामा निर्माण हुने यो चलचित्रबाट उनले दुई वर्षपछि नेपाली चलचित्रमा कमब्याक गर्न लागेकी हुन् । इन्टस्टाग्राममा आफ्नो हट एण्ड बोल्ड तस्विर साझेदार गरेर बेला बखतमा चर्चा आउने उनको गायक नितेशसँग केमेस्ट्री कस्तो देखिएला ? धेरैका लागि चासोको विषय बनेको छ




