चलचित्र ‘ड्रिम्स’ बाट नेपाली चलचित्र क्षेत्रमा उदाएकी अभिनेत्री हुन्, साम्राज्ञी आरएल शाह । केही समय अघिसम्म हिटको ग्यारेन्टी दिने अभिनेत्री भन्ने गरिन्थ्यो । तर, दोस्रो चलचित्र ‘ए मेरो हजुर २’ पछि उनले सफलता हात पार्न सकेकी छैनन् । यो चलचित्रपछि उनले जति पनि चलचित्र गरिन्, कुनैले बक्सअफिसमा नाफाको व्यापार गर्न सकेनन् । न त उनको अभिनयकै प्रशंसा भयो ।
पछिल्लो समय अभिनेत्री साम्राज्ञीको चलचित्रका कारण कमै चर्चा हुने गरेको छ । बरु, उनी विभिन्न कारणले बाक्लै रुपमा विवादको केन्द्रमा रहने गरेकी छन् । इन्डोनेसियाको बालीमा प्रेमीसँग खिचाएको अन्तरंग तस्विर बाहिरिएपछि उनले ठूलो विवादको सामना गर्नुपर्यो । योभन्दा अगाडि स्तनको तल्लो भागमा खोपेको ट्याटुको फोटोको कारण पनि उनी विवादमा परेकी थिइन् ।

हाल आफू अभिनीत चलचित्र ‘मारुनी’ को प्रदर्शनका लागि यूकेमा रहेकी उनी यसपटक आफ्नो अभिव्यक्तिका कारण चर्चामा आएकी छन् । यूकेको एक यूट्युब च्यानललाई अन्तर्वार्ता दिने क्रममा उनले आफ्नो स्वार्थका लागि मिडियाले कलाकारको बारेमा नसोच्ने तर्क राखेकी छन् । मिडियामा आउने नकारात्मक समाचारले आफ्नो जीवनमा पनि ठूलो प्रभाव पारेको उनी बताउँछिन् ।
साम्राज्ञी सार्वजनिक कार्यक्रममा जाँदा प्रायः आमासँगै पुगेकी हुन्छिन् । उनीहरु मिलेको देख्दा नचिन्नेहरु दिदी(बहिनी भन्दै अँडकल काट्ने गर्दछन् । आमालाई प्रायः साथमै लिएर हिँड्नुको कारणबारे पत्रकारले सोधेको प्रश्नमा उनले आक्रोशित मुद्रामा भनिन्, ‘आफ्नो छोरीले आफ्नो आमालाई लिएर हिँड्दा अरुलाई किन गर्मी ? आर्टिस्ट भएपछि जे गर्दा पनि समस्या हुने रहेछ ।’
नेपालमा पछिल्लो समय राम्रो चलचित्र बन्न थालेको उनको बुझाई छ । तर, चलचित्र नै नहेरी नेपाली चलचित्र राम्रो नै बन्दैन भन्ने सोच हटाउन आवश्यक रहेको उनी बताउँछिन् । उनले प्रदर्शनरत चलचित्र ‘आमा’ को ट्रेलर हेरेपछि गहभरी भएको बताउँदै आफू नेपाल ओर्लिए लगत्तै चलचित्र हेर्न हल जाने बताइन् । उनी चाँडै अभिनेता प्रदीप खड्कासँग नयाँ चलचित्रमा काम गर्दैछिन् ।




