चलचित्र विकास बोर्डका अध्यक्ष तथा चलचित्र निर्माता केशव भट्टराईको हृदयघातका कारण निधनपछि उनको परिवारमा आर्थिक समस्या उत्पन्न भएको खबर बाहिर आएपछि अहिले विभिन्न चलचित्रकर्मीहरुले आर्थिक सहयोग गरिरहेका छन् । स्वर्गीय भट्टराईको परिवारमाथि आइपरेको आर्थिक पीडालाई कम गर्न समिति समेत गठन भैसकेको छ ।
हालै अभिनेत्री करिश्मा मानन्धरले होली मनाउने खर्च १ लाख १ सय १ रुपैयाँ स्वर्गीय भट्टराईको परिवारलाई हस्तान्तरण गरेकी थिइन् । त्यस्तै, अहिले अमेरिकामा बस्दै आएका फिल्मकर्मीले पनि भट्टराईको परिवारलाई राहत स्वरूप आर्थिक सहयोग अभियान चलाएका छन् । यसैक्रममा अमेरिकामा बस्दै आएका चलचित्र निर्देशकहरुले स्व.भट्टराईको परिवारलाई सहयोग गरेका छन् ।

उनीहरुले १ लाख २६ हजार ५ रुपैयाँ चलचित्र निर्देशक समाजमार्फत् स्व.भट्टराईको परिवारलाई सहयोग गरेका हुन् । निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा र महासचिव जनकदीप पराजुलीले चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईलाई रकम हस्तान्तरण गरे ।
नेपाली चलचित्रका निर्देशकहरु नारायण पुरी, गोपाल चन्द्र लाम्छाने, दिनेश कार्की, किशोर सुब्बा, अक्की शर्मा, यादब सिलवाल, बीबी फुँयाल र सुमन दाहालमार्फत् आएको उक्त रकम हस्तान्तरण गरिएको हो । यो रकम स्व.भट्टराईकी पत्नीलाई प्रदान गरिने जानकारी समितिले गराएको छ । त्यस्तै, अमेरिकामा बस्ने अन्य चलचित्रकर्मीहरुबाट पनि ९ लाख रुपैयाँ संकलन भैसकेको छ ।




