अभिनेता खगेन्द्र लामिछानेले निर्देशनमा डेब्यू गरेको चलचित्र ‘पानीफोटो’ ले प्रदर्शन मिति घोषणा गरेको छ । निर्माण कम्पनी टुकी आर्ट्स प्रा.लि र मञ्जुश्री फिल्म प्रोडक्सनले साउन ३० गतेलाई चलचित्रको रिलिज क्यालेन्डर रोजेको हो । चलचित्र अहिले सम्पादन टेवुलमा छ । अभिनयमा विविधता पस्कन माहिर मानिने खगेन्द्रको डेब्यू निर्देशित चलचित्र भएका कारण ‘पानीफोटो’ प्रति अपेक्षा उच्च छ ।
यो चलचित्र दशक अगाडिको चर्चित नाटक ‘पानीफोटो’ माथि निर्माण भएको हो । यो नाटकको लेखन र निर्देशन पनि खगेन्द्र आफैंले गरेका थिए । उनले यो नाटकलाई पुस्तकमा समेत ढालिसकेका छन् । काठमाडौं, चितवन, स्याङ्जा र रोल्पामा छायांकन भएको चलचित्रमा रोजिना सिटौला र रविन्द्र बज्राचार्यको संयुक्त लगानी छ । चलचित्रमा नयाँ र पुराना कलाकारको समिश्रण छ ।

चलचित्र ‘पानीफोटो’ मा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि गुरुङ, अजस्र ढुङ्गाना, कमलमणी नेपाल, श्याम कुमार खड्का, कमल देवकोटा, अनोज पाण्डेलगायतका कलाकारको अभिनय छ । अभिनेताबाट चलचित्र निर्देशनमा फड्को मारेका खगेन्द्रले चलचित्रलाई राम्रो बनाउन आफ्नो तर्फबाट कुनै कसर नछाडेको बताए ।
पन्ध्र वर्ष अगाडि बेपत्ता भएको आफ्नो छोराको पखाईमा बसेका बुबा-आमाको कथामा चलचित्र आधारित छ । पुष्पा संगमको पाश्र्व संगीत रहेको चलचित्रलाई दीपक बज्राचार्यले खिचेका हुन् भने सम्पादनको जिम्मेवारी निमेष श्रेष्ठको काँधमा छ । ‘पानीफोटो’ नाटकलाई दृश्यभाषामा उतार्दा आफैंले निर्देशन गर्ने सोचअनुरुप चलचित्रको निर्देशन आफैंले गरेको अभिनेता खगेन्द्र बताउँछन् ।




