अभिनेत्री रेखा थापाको अर्को वर्षका लागि पहिलो चलचित्र ‘हिरो रिटर्न्स’ बैशाखको २६ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘अन्दाज’ बाट आफूले नै अभिनेताको रुपमा भित्राएको सविन श्रेष्ठको आग्रह नकार्न नसकेर उनले यो चलचित्र गरेकी थिइन् । बुधवार सार्वजनिक भएको चलचित्रको ट्रेलरमा सविन र रेखा दुवै एक्सन अवतारमा देखिएका छन् । चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका हुन् ।

चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा रेखाले ‘हिरो रिटर्न्स’ प्रदर्शनमा आउँदै गर्दा आफ्नो डेब्यू चलचित्र ‘हिरो’ को स्मरण गरिन् । ‘हिरो’ लाई कसरी सम्झनुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘यो चलचित्रलाई सम्झन मसँग शब्द नै छैन । मेरो मनमा टाँसिएको चलचित्र हो ‘हिरो’ । तर, यो चलचित्रले मलाई हिरो बन भनिरहेको रहेछ भन्ने कुरा चाहिँ यदाकदा मेरो दिमागमा आउँछ ।’
कार्यक्रममा उनले नेपाली चलचित्र नचलिरहेको प्रशंग झिक्दै सञ्चारकर्मीलाई कहिले काहिँ निःशुल्क चलचित्रको प्रचार गर्न आग्रह गरिन् । उनको यही भनाईमा टेकेर पत्रकारले प्रश्न गरे- ‘तपाईंले चाहिँ कति चलचित्र निःशुल्क गर्नुभयो ?’ उनले जवाफ फर्काउन समय लगाइनन् । ‘मैले थुप्रै चलचित्र पैसा नलिइ गरेको छु । ‘हिरो रिटर्न्स’ मा पनि नलिएको जस्तै हो,’ रेखाले भनिन् ।




