‘छ माया छपक्कै’, ‘घामपानी’ र ‘गोपी’ चलचित्रका निर्देशक दीपेन्द्र लामाको नयाँ प्रोजेक्ट ‘२ नम्बरी’ मा भुटानी अभिनेत्रीले अभिनय गर्ने भएकी छन् । भुटानी चलचित्र निर्मात्री, अभिनेत्री तथा निर्देशक उगेन छोदेनले यो चलचित्रबाट नेपाली फिल्ममा डेब्यू गर्न लागेकी हुन् । यही फागुन २८ गतेबाट छायांकनमा जान लागेको चलचित्रमा उनको जोडी अभिनेता दयाहाङ राईसँग बाँधिनेछ ।

बिहीवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले उगेन छोदेन चलचित्रमा भित्रिएको जानकारी गराएको हो । निर्देशक लामाले चलचित्रमा उनी भुटानी नागरिककै भूमिकामा रहने बताए । ‘उहाँसँग मेरो एक फेस्टिभलमा भेट भएको थियो । त्यहाँ उहाँले अभिनय गरेको चलचित्र हेर्ने मौका पाएको थिएँ,’ निर्देशक लामाले उगेनसँगको भेट स्मरण गर्दै भने ।
अभिनेत्री उगेनले नेपाली चलचित्रमा अभिनय गर्ने अवसर पाउनु आफ्नो लागि सौभाग्यको कुरा रहेको बताइन् । भुटानमा विदेशी चलचित्र प्रतिबन्ध भए पनि यूट्युबमार्फत् नेपाली चलचित्र हेर्ने गरेको उनको भनाई छ । ‘राजेश हमाल, पल शाह, दयाहाङ राईको भुटानमा ठूलो क्रेज छ । नेपाली चलचित्र भुटानी दर्शकले निकै मन पराउँछन्,’ उनले नेपाली भाषा भुटानी लवजमा भनिन् ।
उनी ‘कबड्डी’ हेरेपछि अभिनेता दयाहाङ राईको फ्यान भएकी रहेछिन् । उनले अगाडि थपिन्, ‘दयाहाङ राई मेरो फेभरेट अभिनेता हुनुहुन्छ । उहाँले अभिनय गर्नुभएको प्रायः सबै चलचित्र हेरेको छु । मलाई उहाँको ‘घामपानी र कबड्डी’ निकै मनपर्छ । ‘कबड्डी’ हेरेपछि त म उहाँको फ्यान भएकी थिएँ । आज उहाँसँगै स्क्रिन साझेदार गर्ने अवसर पाउँदैछु । म आफूलाई भाग्यमानी ठान्छु ।’

अभिनेता दयाहाङले उगेनसँग स्क्रिन साझेदार गर्न आफू उत्साहित रहेको बताए । दुई साथीको कथामा बन्ने ‘२ नम्बरी’ को कथा निर्देशक लामाकै हो । अर्को वर्षको जनै पूर्णिमामा प्रदर्शन हुने चलचित्रमा बुद्धि तामाङको पनि अभिनय रहनेछ । रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा रहेको चलचित्रको प्रस्तुतकर्तामा किरण नेपाली छन् । रत्न श्रेष्ठ चलचित्रको कार्यकारी निर्माता हुन् ।




