यतिबेला कोरोना भाइरसले विश्व हल्लाएको छ । जसको असर विश्व चलचित्र बजारमा समेत परेको छ । चीन, जापान, साउथ कोरिया र इटलीका हजारौं हल बन्द भएपछि हलिउडका ठूला चलचित्रहरुले धमाधम प्रदर्शन मिति सारिरहेका छन् । नेपाली हलमा समेत कोरोना भाइरसको त्रासले दर्शकको उपस्थिति पातलिँदै गएको छ । जसले गर्दा प्रदर्शनको तयारीमा रहेका चलचित्र सर्ने सम्भावना बढेको छ ।
हल सञ्चालकहरु हल नै बन्द गर्ने वा विशेष सावधानी अपनाउने भन्ने विषयमा छलफल गरिरहेका छन् । यसबीच, नेपाल चलचित्र निर्माता संघले फ्लोरमा रहेका सम्पूर्ण चलचित्रको छायांकन रोक्न आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नभएसम्म छायांकन रोक्न निर्मातालाई संघले विज्ञप्तीमार्फत् आग्रह गरेको हो ।

निर्माता संघका महासचिव रोज राणाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘कोरोना भाइरसबाट हुने जोखिम न्युनिकरणको लागि आफ्नो तह र तप्काबाट आम मानिसमा सचेतना जागृत गराउनका साथै छायांकन भइरहेका चलचित्रहरुको हकमा सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि आ-आफ्नो चलचित्रको छायांकन कार्य स्थगन गर्नुहुन सबैमा अनुरोध गर्दछौं ।’
अहिले सीमित चलचित्रको मात्र छायांकन भैरहेको छ । गत वर्षको तुलानामा यस वर्ष फिल्म निर्माणमा ठूलो गिरावट आएको छ । अहिले ‘ए मेरो हजुर ४’, ‘परदेशी २’ लगायतका केही फिल्मको छायांकन भैरहेको छ । चलचित्र निर्माता संघले कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि छायांकन रोक्न आग्रह गरेपछि छायांकनरत चलचित्रका निर्मातालाई ठूलो घाटा हुने देखिएको छ ।




