‘प्रेमगीत ३’ टिजरलाई उम्दा प्रतिक्रिया



यस वर्षको प्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’ को चार दिनअघि सार्वजनिक भएको टिजरलाई दर्शकबाट उम्दा प्रतिक्रिया मिलेको छ । चलचित्रको टिजरलाई अहिलेसम्म ६ लाखभन्दा बढीले हेरिसकेका छन् । भने, तीस हजार लाइक्स प्राप्त छ । टिजर हेरेर तीन हजारभन्दा बढीले कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया जनाएका छन् । जसमध्ये ९० प्रतिशत प्रतिक्रिया सकारात्मक छन् ।

टिजर हेरेपछि रुषा परियार लेख्छिन्, ‘अहिलेको समयमा पौराणिक विषयमा बनेको नेपाली चलचित्र हेर्ने मन थियो, त्यो ‘प्रेमगीत ३’ ले पुरा गर्ने भयो ।’ अर्का यूट्युब प्रयोगकर्ता हर्षले बलिउडलाई टक्कर दिने चलचित्र बनेकोमा खुसी व्यक्त गरेका छन् । त्यस्तै, सुरेन्द्र साउदले नेपाली चलचित्र क्षेत्रमा ‘प्रेमगीत ३’ ले नयाँ इतिहास लेख्ने दाबी गरेका छन् भने अनमोल जंगले यो फिल्मलाई नेपाली चलचित्रको नयाँ सुरुवातको रुपमा लिएका छन् ।

तीन हजारभन्दा बढी कमेन्टमा प्रायः दर्शकले नेपालमा यस्तो विषयवस्तुमा चलचित्र बन्नु र बनाउने हिम्मत गर्नु, नेपाली चलचित्रलाई एउटा उचाइमा पुर्‍याउनु रहेको भन्दै प्रशंसा गरेका छन् । टिजरले दर्शकमा चलचित्रप्रति अपेक्षा बढाएको छ । जसले गर्दा निर्माण टिममाथि चुनौती थपिएको छ । निर्माता तथा निर्देशक सन्तोष सेन दर्शकको अपेक्षालाई चलचित्रले निराश नबनाउने दाबी गर्छन् ।

चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको हाइप टिजरले ह्वात्तै चुल्याएको छ । ‘हर यूग होस् प्रेमको गीतको’ र ‘हात्ती ढुंगामा’ गीतले पनि चलचित्रको हाइप निर्माणमा ठूलो भूमिका खेलेको छ । हिट चलचित्रको सिरिज भएका कारण ‘प्रेमगीत ३’ ले बक्सअफिसमा आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ । चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् ।

चलचित्रमा शिव श्रेष्ठ, प्रदीप खड्का, मनिष राउत, क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ । चलचित्रले डेढ सय वर्ष अगाडिको प्रेमकथा भन्छ । तीन करोडको लागतमा निर्मित चलचित्रको कथा छेतेन गुरुङ र मन्दीप गौतमले लेखेका हुन् ।

टिजर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu