चलचित्र ‘चपली हाइट ३’ को शुक्रवार सार्वजनिक भएको टिजरलाई दर्शकले रुचाएका छन् । सस्पेन्स थ्रिलर शैलीमा तयार पारिएको टिजर यो समाचार तयार पार्दासम्म सफलताको मानक मानिने नेपालको यूट्युब ट्रेन्डिङको १८औं स्थानमा छ । टिजरलाई अहिलेसम्म साढे १ लाखभन्दा बढीले हेरिसकेका छन् । साढे ४ हजारको आसपास लाइक्स मिलेको टिजरमा २ सय बढी कमेन्ट प्राप्त छन् ।
टिजर हेरेपछि दर्शकहरुले चलचित्र राम्रो बनेको हुनसक्ने विश्वास व्यक्त गरेका छन् । सविता विष्ट यूट्युबको कमेन्ट बक्समा लेख्छिन्, ‘यस्तो पो हुनुपर्छ टिजर । नेक्स्ट लेभल ।’ दिलजित बोहोराले टिजर प्रोमिसिङ रहेको उल्लेख गरेका छन् । प्रायःलाई टिजरको सस्पेन्स पाटो र अर्पण थापाको लुक्स मन परेको छ । टिजरले दर्शकमा चलचित्रप्रति अपेक्षा बढाएको कमेन्ट बक्स हेर्दा थाहा हुन्छ ।

निकेश खड्का निर्देशक ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारीलगायतका कलाकारहरुको अभिनय छ । आकाश बरालको पटकथा तथा संवाद रहेको चलचित्रमा सुभाष भुषाल र अर्जुन कुमारको संगीत छ । भने, अष्ट महर्जनको द्वन्द्व निर्देशन छ ।
आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको निर्माण अर्जुन कुमार फिल्मस्को ब्यानरमा भएको हो । निर्देशक निकेश र निर्माता अर्जुन कुमारबीच यसअघि फिल्म ‘फाटेको जुत्ता’ मा पहिलो पटक सहकार्य भएको थियो । ‘चपली हाइट ३’ पछि निर्माता अर्जुनले ‘बर्मजंगको भिडियो’ र ‘खै’ नाममा दुई चलचित्र बनाउँदैछन् । यी चलचित्रका नाम टिजरमा समेत राखिएको छ ।
टिजर हेर्नुहोस् :-




