२९ वर्षका भए प्रदीप



युवा पुस्तामाझ लोकप्रिय अभिनेता प्रदीप खड्का सोमवारबाट २९औं वर्षमा प्रवेश गरेका छन् । वि.सं. २०४७ फागुन २६ गते ललितपुरको कुसुन्तीमा पिता टेक बहादुर खड्का र माता शारदा खड्काको परिवारमा जन्म लिएका उनले सिक्किम मणिपाल युनिभर्सिटिबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध फाउन्डेसनबाट एमबिए सकाएका छन् । उनले मार्केटिङमा मास्टर्स गरेका हुन् ।

बाल्यकालदेखि नै अभिनयमा रुचि भएका उनले चलचित्र ‘स्केप’ बाट अभिनेताबाट रुपमा डेब्यू गरेका थिए । यसमा उनी आफैंले लगानी गरेका थिए । तर, यो चलचित्र हलमा लागेको र उत्रिएकै थाहा भएन । यसपछि उनले आफ्नै लगानीमा ‘ठूलो मान्छे’ नामक चलचित्र बनाए । यो चलचित्र पनि चलिदिएन । यसपछि उनी परिवारको दबाबका कारण अष्ट्रेलिया जाने तयारीमा थिए ।

उनी पनि दुई चलचित्र असफल भएपछि निराश भएका थिए । तर, मनमा अभिनयको हुटहुटी भने मरिसकेको थिएन । परिवारको दबाबका कारण उनी अष्ट्रेलिया जान तयार भए र भिषा एप्लाइ गरे । त्यही बेला नेपालमा ठूलो भूकम्प गयो र भिषा आउन ढिलाइ भयो । भूकम्पले कयैन् घरबार विहीन भए । कतिको ज्यान गयो । प्रदीपलाई भने त्यही भूकम्प जीवनको सुनौलो प्रहर बन्न पुग्यो ।

भूकम्पले अष्ट्रेलियाको भिषा आउन ढिलाइ भएपछि उनी घरमै बसेर दैनिकी विताइरहेका थिए । त्यही बेला सुदर्शन थापा ‘गडफादर’ बनेर आए । उनले अभिनेता प्रदीपलाई ‘प्रेमगीत’ अफर गरे । तर, प्रदीपले तत्कालै चलचित्र गर्छु भन्न सकेनन् । किनकि, परिवारबाट उनलाई विदेश जान चर्को दबाब थियो । यद्यपि, उनले परिवारसँग एउटा मौका माग्दै चलचित्र गर्न राजी भए ।

‘प्रेमगीत’ बक्सअफिसमा सफल भए नेपाली चलचित्रमै सक्रिय हुने अन्यथा अष्ट्रेलिया उड्ने उनको सोच थियो । चलचित्र २०७२ साल माघ २९ गते प्रदर्शनमा आयो । बक्सअफिसमा अर्को ठूलो चलचित्र ‘क्लासिक’ सँग भिड्नु पर्दा चलचित्रले घरेलु बजारबाट लगानी उठाउन सकेन । तर, दर्शकले फिल्मलाई अत्याधिक रुचाए । प्रदीपको अभिनयको पनि दर्शक तथा समीक्षकले प्रशंसा गरे ।

‘प्रेमगीत’ पछि उनलाई नेपाली चलचित्रको सम्भावना बोकेको अभिनेताको रुपमा हेरियो । यसपछि निर्माताबीच उनलाई लिएर चलचित्र बनाउन सुरु भएको हानाथाप आजसम्म पनि कायमै छ । डुबिसकेको चलचित्र करिअरका लागि सञ्जिवनी बुटी सावित भएको ‘प्रेमगीत’ पछि अभिनेता प्रदीपले आफ्नो करिअर पछाडि फर्केर हेर्नु परेको छैन । अहिले नेपाली चलचित्रमा उनको बोलवाला छ ।

एक चलचित्रका लागि ३५ लाखको आसपास पारिश्रमिक बुझ्ने गरेका उनलाई अभिनेता अनमोल केसीको प्रतिस्पर्धी समेत भन्ने गरिन्छ । यी दुईबीच पारिश्रमिकलाई लिएर बेला बखतमा प्रतिस्पर्धा हुने गरेको छ । चकलेटी लुक्सका धनी प्रदीपले ‘फान अवार्ड २०७३’ मा ‘स्टार अफ द ईयर’ र ‘एलजी सिने सर्कल फिल्म अवार्ड २०७५’ मा पपुलर नायकको अवार्ड समेत चुमिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu