रुचाइयो ‘हिजो आजका कुरा’ को ‘माया जदौ’ गीत



साकार पन्तको डेब्यू निर्देशित चलचित्र ‘हिजो आजका कुरा’ को ‘माया जदौ’ गीत केही दिनयता चिया पसलदेखि सांस्कृतिक कार्यक्रमसम्म अत्याधिक घन्किरहेको छ । रामकृष्ण ढकाल र मेलिना राईको स्वर रहेको यो गीत दर्शकले निकै रुचाएका छन् । गीतमाथि हजारौं टिकटक भिडियो बनिसकेका छन् भने विभिन्न कार्यक्रममा नाच्नका लागि अहिले हरेकको रोजाइ यही गीत बनिरहेको छ ।

प्रणय दिवसमा सार्वजनिक भएको गीतमाथि अहिलेसम्म ३१ लाखभन्दा बढीको नजर परिसकेको छ । ६२ हजार लाइक्स मिलेको गीतलाई साढे तीन हजारभन्दा बढी कमेन्ट प्राप्त छन् । कमेन्टमा अधिकांशले गीतको प्रशंसामा शब्द खर्चिएका छन् । कतिले रामकृष्ण र मेलिनाको स्वरको तारिफ गरेका छन् भने कतिले भिडियोमा देखिएका कलाकारहरुको नृत्य मन पराएका छन् ।

बलिउड चलचित्र ‘ओम शान्ति ओम’ को गीत ‘दिवान्गी दिवान्गी’ शैलीमा तयार पारिएको गीतको भिडियोमा नेपाली चलचित्रका नयाँदेखि पुराना थुप्रै कलाकारले नृत्य गरेका छन् । चलचित्रका कलाकारहरु सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मा, केकी अधिकारी, ऋचा शर्मासँगै दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, नम्रता श्रेष्ठ, शिवहरी पौडेललगायत गीतमा फिचर्ड छन् ।

बैशाख १२ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको हाइप निर्माणमा ‘माया जदौ’ गीतले ठूलो भूमिका खेलेको छ । गीतको बढ्दो लोकप्रियता हेर्दा चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्ने देखिन्छ । गीतसंगीत रुचाइएका चलचित्रले हलमा पनि राम्रो व्यापार गरेका थुप्रै उदाहरण छन् । यसकारण पनि अहिले निर्माताहरुले गीतको अडियो र भिडियोमा निकै ध्यान दिने गरेका छन् ।

करीब १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको चर्चित हास्यटेलिसिरियल ‘हिजो आजका कुरा’ नाम सापटी लिएर चलचित्र निर्माण भएको हो । कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने कथामा चलचित्र निर्माण भएको बताइएको छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu