लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ अहिले एकसाथ चलचित्रमा काम गरिरहेका छन् । उनीहरुले हालै चलचित्र ‘माइकल अधिकारी’ को छायांकन भ्याएका हुन् । उनीहरु यो चलचित्रमा श्रीमान्-श्रीमतीको भूमिकामा छन् । पहिलो पटक यस प्रकारको भूमिकामा देखिन लागेका कारण उनीहरु मात्र चलचित्रलाई लिएर उत्साहित छन् ।
भाडाको कोखसम्बन्धी विषयमा चलचित्र निर्माण भएको हो । कुनै दम्पतीको सन्तान भएको छैन, सन्तान नहुनुमा महिला गर्भधारण गर्न अक्षम वा नचाहेको अवस्थामा पुरुषले अर्की महिलाको कोख भाडामा लिएर सन्तान जन्माउने प्रक्रियालाई भाडाको कोख भनिन्छ । यस अवस्थामा जन्मेको सन्तान पुरुषको हुन्छ र भाडामा कोख दिने महिलाले त्यसबापत पैसा मात्र पाउँछिन् ।

चलचित्र ‘माइकल अधिकारी’ ले यही विषय उठान गरेको छ । चलचित्रमा सौगात र सृष्टि आर्थिक अवस्था कमजोर भएको जोडीको रुपमा देखिँदैछन् । चलचित्रमा सृष्टिले पैसाका लागि आफ्नो कोख भाडामा लगाउने महिलाको भूमिका निर्वाहा गरेकी छन् । यो चलचित्र अहिले सम्पादन टेवुलमा छ । चैत २८ गते प्रदर्शनमा आउने भनिएको चलचित्रलाई रञ्जित रौनियारले निर्देशन गरेका हुन् ।
चलचित्रको छायांकन सुरु हुँदै गर्दा निर्माण टिमले सौगात र सृष्टिको लुक्स सार्वजनिक गरेको थियो । जसमा सृष्टिको सिउँदोमा सिन्दूर, गलामा पोते र हातमा चुरा देखिएको थियो भने सौगातले टाउकोमा विग लगाएका थिए । अब, चलचित्रको सुटिङ सेटमा खिचिएको सौगात र सृष्टिको नयाँ तस्विर ठूलोपर्दा डटकमलाई प्राप्त भएको छ । जहाँ उनीहरु भिन्न गेटअपमा देखिएका छन् ।
प्राप्त तस्विरमा अभिनेत्री सृष्टि श्रेष्ठ रातो रंगको साडी चोलीमा देखिएकी छन् भने उनको काखमा दुधे बच्चा छ । उनको छेवैमा सौगात मल्ल उभिएका छन् । तस्विरमा देखिएको उनीहरुको भिन्न गेटअपले दर्शकमा चलचित्रप्रति उत्सुकता र कौतुहलता बढाउने देखिन्छ । पहिलो पटक यो रियल जोडीलाई पर्दामा श्रीमान्-श्रीमतीको भूमिकामा हेर्न दर्शकलाई निकै रोचक हुनेवाला छ ।




