महाशिवरात्रीको अवसर पारेर फागुन ९ गतेबाट प्रदर्शनमा आएको हास्यकलाकार द्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अभिनीत चलचित्र ‘सेन्टी भाइरस’ लाई मल्टीप्लेक्सहरुले उतारेका छन् । तेस्रो हप्तासम्म हलमा उपस्थिति जनाएको यो चलचित्रलाई चौथो हप्ताबाट मल्टीप्लेक्सहरुले उतारेका हुन् । यसको कारण चलचित्रको व्यापार कमजोर हुनुलाई मानिएको छ ।
प्रदर्शनको दुई दिन चलचित्रले आक्रामक व्यापार गरेको थियो । तर, समीक्षकबाट मिलेको खराब प्रतिक्रियाले आइतवारबाट चलचित्रले कमाईमा उछाल कायम गर्न सकेन । चलचित्रको आम्दानीको ५० प्रतिशत भरतपुरमा निर्माणाधिन क्रिकेट रंगशालामा खर्च गर्ने घोषणा गर्दा पनि कमजोर ‘वर्ड अफ माउथ’ का कारण ‘सेन्टी भाइरस’ ले दुई दिनबाहेक हलमा दर्शक ल्याउन असफल भयो ।

यो चलचित्र बक्सअफिसमा कमजोर बन्दाको प्रत्यक्ष फाइदा दीपेन्द्र के. खनालको चलचित्र ‘आमा’ लाई मिलेको छ । चौथो हप्ताबाट ‘सेन्टी भाइरस’ मल्टीप्लेक्सहरुबाट उत्रिँदा ‘आमा’ ले भने आफ्नो दबदबा कायमै राखेको छ । यी दुई चलचित्र एकसाथ मैदानमा उत्रिएका थिए । चौथो हप्तामा क्यूएफएक्स चेनमा ‘आमा’ ले ७ सोज पाएको छ । अघिल्लो हप्ता चलचित्रलाई १६ सोज थियो ।
माउथ पब्लिसिटी तगडा भएका कारण यो चलचित्र लामो रेसको घोडा बन्न सफल भएको हो । तर, संसारभर फैलिएको कोरोना भाइरसका कारण अहिले यो चलचित्रले पनि दर्शकको राम्रो साथ पाउन सकेको छैन । डब्लूएचओले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताएपछि केही दिनयता हलमा दर्शकको उपस्थिति न्यून छ । जसको असर ‘आमा’ को व्यापारमा परेको छ ।
कोरोनाको त्रासका कारण यो हप्ता हलमा नयाँ नेपाली चलचित्रछैनन् । आज शुक्रवारबाट चलचित्र ‘म यस्तो गीत गाउँछु २’ आउँदै थियो । तर, कोरोनाकै कारण चलचित्रको रिलिज स्थगित भयो । यद्यपि, शुक्रवारबाट नेपाली हलमा हलिउड फिल्म ‘ब्लड सट’ र बलिउड चलचित्र ‘अंग्रेजी मिडियम’ प्रदर्शनमा आएका छन् । यी दुई चलचित्रलाई शुक्रवार विहान दर्शकको औसत साथ मिलेको छ ।




