कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै नेपाल सरकारले बिहीवार साँझ १९ वटा निर्णय गरेको छ । जसमध्ये १९औं नम्बरको निर्णयले नेपाली चलचित्र क्षेत्रमा संकट उत्पन्न हुने खतरा सृजना भएको छ । सरकारले ठूलो संख्यामा मानिसहरुको भेला हुने सिनेमा हलमा नजान आव्हान गरेको छ । सिनेमा हलमा कोरोनाको जोखिम उच्च हुने भएकाले सरकारले यो आव्हान गरेको हो ।

‘कोरोना भाइरसको संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने सिनेमा हल, सभा समारोह, सामाजिक कार्य एंव मेला महोत्सव सहभागी नहुन आम जनसमूदायलाई आह्वान गर्ने’, सरकारले गरेको निर्णयमा भनिएको छ । सरकारले यो आह्वान गर्नुभन्दा अगावैदेखि कोरोनाको त्रासले हलमा दर्शक पातलिन थालेका थिए । अब, झन् हलहरु सुनसान हुने भएका छन् ।
सरकारले भीडभाड हुने सिनेमा हलमा नजान आग्रह गरेपछि देशभर सञ्चालनमा रहेको सयभन्दा बढी हलहरु बन्द हुनसक्ने सम्भावना बढेको छ । दर्शकको स्वास्थ्यलाई ख्याल गर्दै कोरोनाको जोखिम न्यूनिकरणका लागि मल्टीप्लेक्स हलहरुले विशेष सावधानी अपनाए पनि अहिले प्रतिक्षीत विदेशी चलचित्र हेर्न समेत दर्शक आएका छैनन् । सिंगल थिएटरको अवस्था झन् नाजुक छ ।




