कोरोनाका कारण पछाडि सर्‍यो ‘लक्का–जवान’



कोरोना भाइरसको त्रासका कारण अहिले हलमा दर्शकको उपस्थिति टिठलाग्दो छ । हलमा दर्शक पातलिन थालेपछि अहिले एकपछि अर्को नेपाली चलचित्रले प्रदर्शन स्थगित गरिरहेका छन् । दर्शकको स्वास्थ्यलाई ख्याल गर्दै ‘म यस्तो गीत गाउँछु २’ र ‘नीरफूल’ ले प्रदर्शन मिति स्थगित गरे । यस्तैमा कोरोना भाइरसको त्रासका कारण चलचित्र ‘लक्का–जवान’ पनि पछाडि धकेलिएको छ ।

यही चैत २१ मा आउने तयारीमा रहेको यो चलचित्रको प्रदर्शन अनिश्चितकालका लागि स्थगित भएको निर्माता किरण केसीले जानकारी दिए । ‘कोरोनाका कारण अहिले डरै डर छ । सरकारले समेत सिनेमा हलमा नजान आग्रह गरेको अवस्थामा अब सर्नुको विकल्प भएन ।’ शिवहरी पौडेलको डेब्यू निर्देशित चलचित्रमा १ करोड ९२ लाख रुपैयाँ खर्च भइसकेको उनी बताउँछन् ।

उनले अर्को वर्षको भदौमा फिल्म प्रदर्शन गर्ने तयारी भैरहेको बताए । ‘लक्का–जवान’ को दुई गीत गीत यूट्युबमा सार्वजनिक भैसकेका छन् । गीतले चलचित्रको हाइप औसत चुल्याएको अवस्थामा कोरोना भाइरसका कारण रिलिज सार्नु पर्दा निर्मातामाथि दोहोरो खर्चको भार थपिने पक्का छ । योभन्दा ठूलो चिन्ता निर्माण टिमलाई नयाँ प्रदर्शन मितिमा चलचित्र चल्छ वा चल्दैन भन्ने छ ।

दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाललगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रले पाका उमेरका मानिसहरुको कथा भन्छ । ध्रुव दत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुती रहेको ‘लक्का जवान’ को कार्यकारी निर्मातामा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu