मिलन चाम्स निर्देशित चलचित्र ‘बोबी’ कविता गुरुङ र उमेश थापाको प्रेमकथामा आधारित भएर निर्माण भएको थियो । डेढ वर्षअघि प्रदर्शनमा आएको चलचित्रमा उनीहरु स्वयंले अभिनय गरेका थिए । अन्तरजातिय विवाह गरेपछि कविता र उमेशको जीवनमा आएका उतार-चढावलाई चलचित्रमा मनछुने ढंगबाट देखाइएको थियो । दर्शकले चलचित्र निकै रुचाएका थिए ।
‘बोबी’ को सक्सेस पार्टीमा निर्देशक चाम्सले चलचित्रको सिक्वेल घोषणा गरेका थिए । तर, अहिलेसम्म चलचित्रको दोस्रो पार्ट निर्माण हुन सकेको छैन । निर्देशक चाम्स आफ्नो ड्रिम चलचित्र चलचित्र ‘गोर्खा वारियर’ मा व्यस्त भएका कारण यो चलचित्रपछि ‘बोबी २’ को निर्माण हुने बताइएको छ । चलचित्रको सिक्वेलमा पनि कविता र उमेश स्वयंले अभिनय गर्नेछन् ।

श्रीमान् उमेशसँग लामो समयदेखि घाम नअस्ताउने देश नर्वेमा बसोबास गर्दै आइरहेकी कविताले चलचित्र ‘बोबी २’ भन्दा अगाडि एक टेलिभिजन शोमार्फत् दर्शकसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्ने भएकी छन् । उनले नौलो र फरक किसिमको टेलिभिजन शो ‘विस फर अ डे विथ डल्लु’ लिएर आउँदैछिन् । जसको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरियो ।
डल्लु इन्टरटेन्टमेन्टले निर्माण गर्ने शोमा एकजना व्यक्तिको एक दिनको इच्छा, आकांक्षा, सपना र खुशीको कथा देखाइनेछ । वेब टिभीको स्टुडियोमा सम्पादन र छायांकन गरिएको कार्यक्रमलाई डम्बर राईले छायांकन र धुर्वराज पराजुली प्रज्वलितले सम्पादन गरेका छन् । अभिनेत्री कविता गुरुङको कन्सेप्ट र प्रस्तुतिकरण रहेको शोको १० वटा एपिसोडको छायांकन पूरा भैसकेको छ ।
शोको ट्रेलर रिलिज कार्यक्रममा कविताले भनिन्- ‘नर्वेमा मैले र उमेशले कमाएको पैसा महंगो जुत्ता र कपडामा खर्च हुन्छ । तर, यो रकम नेपालमा सामान्य परिवारको एक महिनाको खर्च चल्छ । यसैले, हामीले कमाएको धेरै रकम राम्रो काममा लगाउने सोचका साथ यो कार्यक्रमको सोच आएको हो ।’ पाक्षिक रुपमा डल्लु इन्टरटेन्टमेन्ट युट्यूब च्यानलमा यो कार्यक्रम हेर्न सकिनेछ ।
हेर्नुहोस् ‘विस फर अ डे विथ डल्लु’ को ट्रेलर :-




