यही चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको प्रतिक्षीत चलचित्र ‘चपली हाइट ३’ को प्रदर्शन अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाइरसबाट बच्न सरकारले बिहीवारबाट सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेपछि चलचित्रको प्रदर्शन रोकिएको हो । निर्माण कम्पनी अर्जुन कुमार फिल्मस्ले चलचित्र निर्धारित मितिमा प्रदर्शन नहुने विज्ञप्तीमार्फत् जानकारी दिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि सरकारले अप्रिल ३० सम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेका कारण आम जनमानसको स्वास्थ्यलाई ध्यानमा राख्दै चलचित्रको प्रदर्शन स्थगित गरिएको निर्माता अर्जुन कुमारले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ । अर्को सूचना नआउन्जेलसम्मका लागि चलचित्रको प्रदर्शन स्थगित गरिएको विज्ञप्तीमा भनिएको छ ।

निकेश खड्का निर्देशित ‘चपली हाइट ३’ सुपुष्पा भट्ट, स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारीलगायतका कलाकारहरुको अभिनय छ । आकाश बरालको पटकथा तथा संवाद रहेको चलचित्रमा सुभाष भुषाल र अर्जुन कुमारको संगीत छ । भने, अष्ट महर्जनको द्वन्द्व निर्देशन छ ।




