‘प्रेमगीत ३’ टिमले निःशुल्क बाढ्यो ११ हजार मास्क



प्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’ को निर्माण टिमले सर्वसाधारणलाई मास्क बाँडेको छ । कोरोना भाइरस संक्रमणको त्रास फैलिएसँगै बजारमा मेडिकल मास्क अभाव भएपछि चलचित्रको टिमले निःशुल्क मास्क वितरण गरेको हो । आइतवार दिउँसो चलचित्रका निर्माता सन्तोष सेन, अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङले कोटेश्वर, लगनखेल र गोंगबु क्षेत्रमा मास्क बाँडेका हुन् ।

आइतवार मात्र ११ हजार मेडिकल मास्क वितरण गरिएको निर्माता सेनले फेसबुकमार्फत् जानकारी दिए । उनले भने, ‘बजारमा मास्क अभाव भएको थाहा पाएपछि देशको एक जिम्मेवार नागरिक भएको हैसियतले मास्क वितरण गरेका हौं । यो मुश्किल परिस्थितिमा कुनै पनि बेला सरकारलाई आवश्यक पर्छ भने हाम्रो चलचित्र ‘प्रेमगीत ३’ को सम्पूर्ण टिम सहयोग गर्न तयार छ ।’

चलचित्रको टिमले सर्वसाधारणलाई मास्क वितरण गर्दै सर्तकता अपनाउन पनि आग्रह गरेको थियो । शिरमा कालो रंगको टोपी र मुखमा मेडिकल मास्क लगाएर मास्क वितरण अभियानमा सहभागी भएका अभिनेता प्रदीपले कोरोनाको सम्भावित जोखिमबाट बच्न सम्पूर्ण नेपालीलाई विशेष सावधानी अपनाउन आग्रह गरे । नमस्कार गर्ने संस्कार अपनाउन पनि उनको आह्वान छ ।

‘प्रेमगीत ३’ को अहिले पोस्ट प्रोडक्सनको काम भैरहेको छ । यही चैत २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको कोरोनाका कारण अनिश्चितकालका लागि प्रदर्शन स्थगित भैसकेको छ । निर्माता सेनले स्थिति सामान्य भएपछि चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गर्ने जानकारी दिए । प्रदर्शन स्थगित हुँदा पोस्ट प्रोडक्सनका लागि थप समय मिलेकोमा उनी खुसी छन् ।

चलचित्रमा मा शिव श्रेष्ठ, प्रदीप खड्का, मनिष राउत, क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराईलगायतका कलाकारहरुको अभिनय छ । चलचित्रले डेढ सय वर्ष अगाडिको प्रेमकथा वाचन गरेको छ । चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu