अभिनेत्री नन्दिता केसीले ग्रामीण क्षेत्रमा कोरोना भाइरसबाट बच्नका लागि सचेतना फैलाउन
आवश्यक रहेको बताएकी छन् । यसका लागि शहरी क्षेत्र मात्र सचेत भएर नहुने उनले एक भिडियो सन्देशमा भनेकी छन् । शहरी क्षेत्रका मानिसहरुलाई विभिन्न माध्यमबाट कोरोनाबाट बच्ने उपायबारे थाहा भए पनि ग्रामीण क्षेत्रमा यसको जानकारी पुर्याउन जरुरी रहेका उनको भनाई छ ।
‘सामाजिक सञ्जाल वा अन्य माध्यमबाट शहरी क्षेत्रमा बस्ने मानिसहरु विश्वमा कोरोनाले निम्त्याएको प्रकोपबारे जानकार छन् । र, यसबाट कसरी बच्न सकिन्छ भन्ने पनि थाहा छ । तर, हाम्रो देशमा यस्ता पनि ठाउँ छन्, जहाँ अझै पनि समाचार पुग्न सकेको छैन । इन्टरनेटको सुविधा छैन । ती ठाउँहरुमा कोरोनाबारे सचेतना फैलाउन आवश्यक छ जस्तो मलाई लाग्छ,’ उनले भनेकी छन् ।

स्वास्थ्य चौकी पुग्नै घन्टौं लाग्ने ग्रामीण क्षेत्रमा कोरोनाबाट बच्ने उपाय र यसको लक्षण देखिए कसलाई सम्पर्क गर्ने भन्ने जानकारी पुर्याउन अभिनेत्री केसीले सबैलाई अनुरोध गरेकी छन् । उनी अगाडि भन्छिन्, ‘घरमै गएर यसबारे जानकारी गराउनु पर्छ भन्ने छैन । जुनसुकै माध्यमबाट पनि हामीले यो कुरा उहाँहरुसम्म पुर्याउन सक्यौं भने सिंगो देशलाई यो प्रकोपबाट बचाउन सकिन्छ ।’
सामाजिक सञ्जालमा भ्रम सृजना गर्ने समाचारहरु पोस्ट नगर्न आग्रह गर्दै उनले यो जटिल अवस्थामा आफ्नो स्वास्थ्यको प्रवाह नगरी अहोरात्र खटिने संसारभरका चिकित्सकहरुलाई ‘रियल हिरो’ भन्दै सलुट पनि गरेकी छन् । उनले कोरोनाबाट बच्न सावुन पानीले पटक-पटक हात धुन, तातो पानी पिउन, भीडभाडमा नजान, घरभन्दा बाहिर ननिस्कन पनि सबैमा अपिल गरेकी छन् ।




