सरकारले कोरोनाको जोखिम न्यूनिकरणका लागि देशभर ‘लकडाउन’ गर्ने निर्णय गरेपछि वर्षभरी छायांकनमा व्यस्त रहने नेपाली कलाकारहरु अहिले घरको चार कुनामा खुम्चिएर बस्न बाध्य भएका छन् । ‘सेल्फ क्वारेन्टाइन’ मा कोही फिल्म त कोही पुस्तक पढेर दिन काटिरहेका छन् । घरमा गरेका विभिन्न क्रियाकलापहरु उनीहरुले सामाजिक सञ्जालमा पोस्ट्याइरहेका छन् ।
अभिनेत्री वर्षा सिवाकाटी पनि सरकारले ‘लकडाउन’ गरेपछि घरको गेट खोलेर बाहिर समेत निस्किएकी छैनन् । ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुअघि उनी पोखरामा चलचित्र ‘परदेशी २’ को छायांकनमा व्यस्त थिइन् । तर, सुटिङ सेट ज्वाइन गरेको केही दिनमै कोरोनाको बढ्दो त्रासका कारण चलचित्रको छायांकन रोकियो । यसपछि उनी घरमा परिवारसँग समय विताइरहेकी छन् ।

अभिनेत्री सिवाकाटीले घरमा बसेर ‘लकडाउन’ को भरपूर सदुपयोग गरिरहेकी छन् । केही दिनअघि फेसबुकमा आफूले व्यायम गर्दै गरेको एक भिडियो साझेदार गर्दै ‘लकडाउन’ को सदुपयोग गर्न सबैमा अपिल गरेकी थिइन् । यसबीच, शुक्रवार उनले फेसबुकमा आफ्नो एक तस्विर साझेदार गर्दै कोरोनाको टेन्सन सकिएपछि चीन घुम्न जाने योजनामा रहेको उल्लेख गरेकी छन् ।
उनले लेखेकी छन्, ‘सोचिराछु । यो कोरोनाको टेन्सन सकियोस् । सात दिन विदा लिएर घरमै रेस्ट गरुँ । अनि भ्याकेसनका लागि चाइना घुम्न जानु पर्ला ।’ कोरोनाका कारण वर्षा कति तनावमा छिन् भन्ने कुरा उनले लेखेको यो स्टाटसबाट बुझ्न सकिन्छ । कोरोनालाई चीनले जन्म दिएका कारण अभिनेत्री वर्षा सिवाकोटीले यसको तनाव चीनमै गएर भुल्ने योजना बनाएकी हुन सक्छिन् ।




