काठमाण्डौ। कोरोना भाइरस ‘कोभिड १९’ नियन्त्रण तथा रोकथामका निम्ति नेपाल सरकारले एक हप्ताका लागि देशभर लकडाउन गरेको छ भने आउँदो बैशाख १८ गतेसम्मलाई सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । यसबाट नेपाली फिल्म क्षेत्रलाई करोडौंको नोक्सान हुने देखिएको छ । सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि बैंकबाट कर्जा लिएका हल सञ्चालकलाई ठूलो मार परेको छ ।
हल सञ्चालकहरुको समस्यालाई मध्यनजर गर्दै केही दिनअघि चलचित्र निर्माता संघले सरकारलाई सिनेमा घरहरुले प्रयोग गर्ने बत्तीको भुक्तानी, फिल्म तथा संगीत क्षेत्रमा काम गर्ने कलाकार तथा श्रमिकको पारिश्रमिकमा कटाइने कर र फिल्म तथा गीत संगीत उत्पादन गर्ने कम्पनीहरुले बैंक तथा वित्तीय क्षेत्रबाट लिएको कर्जाहरुमा लाग्ने व्याज मिनाहा गर्न तीन बुँदे माग बुझाएको थियो ।

अन्ततः निर्माता संघले गरेका मागहरु सरकारले सम्बोधन गरेको छ । बुधवार अर्थमन्त्रीको अध्यक्षमा बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले कोरोनाबाट प्रभावित व्यवसायहरुको कर्जाको सावा तथा व्याज तत्काललाई स्थगन गर्ने निर्णय गरेको हो । सरकारले गरेको यो निर्णयलाई फिल्मसँग सम्बन्धित संघ संस्थाहरुले प्रशंसा गरेका छन् ।
अर्थ मन्त्रालयबाट बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको सावा तथा व्याज चैत मसान्तसम्म स्थगन गर्ने निर्णयले तत्काललाई फिल्म क्षेत्रले राहत महशुस गरेको चलचित्र निर्माता संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यो निर्णयका लागि सरकारलाई धन्यवाद ज्ञापन गर्दै निर्माता संघले कोभिड १९ को संक्रमण रोकथामका लागि सरकारले गरेको कार्यहरुको पनि प्रशंसा गरेको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘कोभिड १९ पूर्ण रुपमा नियन्त्रण भएको नेपाल सरकारको घोषणा पश्चात पनि कम्तिमा ८ देखि १० महिनाका लागि राष्ट्रिय चलचित्र तथा गीत संगीत उद्योगलाई गतिशिलता प्रदान गर्न यस क्षेत्रका श्रमजीवि तथा व्यवसायीले बैंक तथा वित्तिय संस्थाबाट लिएको कर्जाको व्याज पूर्ण मिनाहा र सावा पछि बुझाउँदै जाने थप व्यवस्था मिलाइदिनु हुन निवेदन गर्दछौं’ ।




