सरकारले ‘लकडाउन’ को घोषणा गर्नुभन्दा अगाडिदेखि नै कोरोनाको त्रासले घरबाट बाहिर निस्कन छाडेका अभिनेता पुष्प खड्का एक हप्तादेखि घरभित्रै नजरबन्दको अवस्थामा छन् । उनी धेरैपछि घरमा आरामले बस्न पाएका हुन् । कहिले चलचित्र त कहिले म्यूजिक भिडियो, वर्षभरी उनलाई भ्याइनभ्याइ हुन्थ्यो । अहिले उनी आनन्दले घरमै बसेर दिन काटिरहेका छन् ।
कोरोनाका कारण घरको चारकुनामा खुम्चन बाध्य भएका उनको अहिले फिल्म र किताब दिन काट्ने साथी बनेका छन् । ‘लकडाउन’ को समय उपयोग गर्दै उनले ‘नेटफ्लिक्स’ मा खोजी-खोजी चलचित्र र सिरिजहरु हेरिरहेका छन् । शनिवार बलिउड चलचित्र ‘स्ट्रिट डान्सर’ हेरिसकेका उनी किताब पनि पढ्न रुचाउँछन् । अहिले उनले महेश्वर पन्तको ‘फुर्लुङ’ पढिरहेका छन् ।

पुष्प भन्छन्, ‘घरबाट बाहिर निस्किएर पनि कहाँ जाने ? सबै सुनसान छ । त्यसैले म एक हप्तादेखि घरबाट बाहिर निस्किएको छैन । हामी एक जिम्मेवार नागरिक भएका कारण यो प्रकोपबाट सिंगो देशलाई बचाउन सरकारले गरेको निर्णयको पालन गर्नुपर्छ ।’ उनी फुर्सदको बेलामा सामाजिक सञ्जालको माध्यमबाट साथीहरु र भारतमा बस्ने आमा बुबासँग कुराकानी गरिरहेका हुन्छन् ।
काठमाडौंमा भाई र बहिनीसँग बस्ने पुष्पलाई घरमै सीमित हुनुपर्दा मोटाउने चिन्ताले सताउन थालेको छ । कोरोनाको त्रास नहुँदा जिममा केही समय विताउने उनलाई अहिले आफू मोटाउन थालेको महशुस हुन थालेको छ । घरमै पुसअप गर्ने गरेका उनी स्थिति सामान्य भएपछि शरीर सगठित बनाउने योजनामा छन् । उनले हालै ‘चालबाज’ नामक फिल्मको छायांकन भ्याएका हुन् ।




