कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ गरेदेखि अभिनेत्री साम्राज्ञी आरएल शाहको घरभित्रै दिन काटिरहेकी छन् । घरमा चलचित्र हेरेर बस्ने गरेकी उनले बुधवार आफ्ना प्रशंसकहरुको केही जिज्ञासा मेटाइन् । एक फ्यानले नयाँ चलचित्रको बारेमा सोधेको प्रश्नमा उनले अहिले आफूले कुनै चलचित्र साइन नगरेको र अब वर्षमा एउटा मात्र फिल्म गर्ने बताएकी छन् ।
उनले भनेकी छन्, ‘अब वर्षमा दुई-तीनवटा चलचित्र गर्दिनँ । राम्रो स्क्रिप्टबाट अफर आयो भने वर्षमा एउटा गर्छु । नभए गर्दिनँ । अब राम्रो चलचित्रमा मात्र काम गर्छु ।’ कलाकारले गरेको मिहिनेतअनुसार परिणाम नमिलेको उनको भनाई छ । अहिले नेपाली चलचित्रको अवस्था राम्रो नभएको पनि उनी बताउँछिन् । कोरोनापछि नेपाली चलचित्रको अवस्था सुध्रने उनको विश्वास छ ।

अभिनेत्री साम्राज्ञी अगाडि थप्छिन्, ‘२ वर्ष अगाडिसम्म नेपाली चलचित्रको अवस्था राम्रो थियो । अघिल्लो वर्ष ७० प्रतिशत चलचित्रको छायांकन भएकोमा यस वर्ष ३० प्रतिशत पनि भएको छैन । अहिले चलचित्र इन्डस्ट्रीका लागि राम्रो समय चलिरहेको छैन । कोरोनापछि सुधार आउनेछ भन्ने आश छ ।’ उनले अब आफू चलचित्र गर्न पहिलाको जस्तो क्रेजी नभएको पनि बताएकी छन् ।
चलचित्र ‘ड्रिम्स’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी साम्राज्ञीको पछिल्ला कुनै चलचित्र बक्सअफिसमा सफल छैनन् । यस वर्ष प्रदर्शनमा आएका दुई चलचित्र ‘मारुनी’ र ‘रातो टिका निधारमा’ बाट उनलाई ठूलो आश थियो । तर, यी दुई चलचित्रले पनि हलमा घुँडा टेकेपछि साम्राज्ञीको अभिनयबाट मन मर्दै गएको छ । उनी अब चलचित्र नै नगर्ने मनस्थितिमा समेत पुगिसकेकी छन् ।




