कोरोना भाइरसको रोकथामका लागि सरकारले दुई हप्ता लामो ‘लकडाउन’ गरेपछि चलचित्रमा मजदुरी गरेर परिवार पाल्ने प्राविधिकहरुलाई आर्थिक संकट परेको छ । ‘लकडाउन’ पछि प्राविधिकहरुलाई हात-मुख जोर्नै समस्या भएपछि चलचित्र प्राविधिक संघले चलचित्रकर्मीसँग सहयोगको अपिल गरेको थियो ।

शुक्रवार ‘छक्का पञ्जा’ टिमले प्राविधिकहरुका लागि १ लाख १० हजार दिने घोषणा गरेको थियो । यसबीच, अभिनेता पल शाहले पनि सामाजिक सञ्जालको माध्यमबाट सहयोग रकम घोषणा गरेका छन् । फेसुबकमा स्टाटस लेख्दै अभिनेता शाहले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका प्राविधिकहरुलाई आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख सहयोग गर्न लागेको जानकारी गराएका हुन् ।

‘विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूको जनजीवनलाई सहज बनाउनको लागि आर्थिक सहयोग गर्ने घोषणा गर्दछु,’ उनले लेखेका छन् ।
यो सहयोग वितरण कार्यमा उनले चलचित्र प्राविधिक संघसँग सहयोगको अपेक्षा राखेका छन् । आर्थिक अवस्था कमजोर भएका फिल्म क्षेत्रमा सक्रिय सबैको साथमा आफू रहको पनि उनले उल्लेख गरेका छन् ।




