कोरोना भाइरसको रोकथामका लागि सरकारले दुई हप्ता लामो ‘लकडाउन’ गरेपछि चलचित्रमा काम गर्ने प्राविधिकहरुको अवस्था दयनिय बनेको छ । अहिले चलचित्र प्राविधिक संघको कार्यालयमा दैनिक आर्थिक तथा विपन्न प्राविधिकहरुले चामल किन्ने पैसा पनि नभएको भन्दै फोन गरिरहेका छन् । संघका अनुसार, तत्काल सय जना प्राविधिकलाई सहयोग गर्न आवश्यक देखिएको छ ।
प्राविधिक संघले विपन्न प्राविधिकका परिवारलाई आर्थिक वा दैनिक आवश्यक खाद्य सामग्री किनेर सहयोग गर्न अपिल गरेपछि अहिले विभिन्न चलचित्रकर्मीहरुले आर्थिक सहयोग गरिरहेका छन् । शुक्रवार दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले १ लाख १० हजार प्राविधिकलाई सहयोग गर्ने घोषणा गर्यो । त्यस्तै, अभिनेता पल शाहले पनि ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

विपन्न तथा आर्थिक अवस्था कमजोर भएका प्राविधिकलाई ५ लाख सहयोग गर्ने घोषणा गरेपछि चलचित्रकर्मीदेखि दर्शकहरुले पलको तारिफ गरिरहेका छन् । यो विपत्तको समयमा कलाकारबाट सहयोग भएकोमध्ये यो ठूलो रकम हो । तर, उनी आफूसँग बढी पैसा भएकाले सहयोग गर्न नलागेको बताउँछन् । आफू पनि संघर्ष गरेर आएका कारण अरुको दुःख बुझ्ने उनको भनाई छ ।
चलचित्र र म्यूजिक भिडियोमा प्रवेश गर्नुभन्दा अगाडि अभिनेता पल शाहले लामो समय तराई टिभीमा सम्पादकको रुपमा काम गरेका थिए । त्यसबेला सामना गर्नु परेका अभावका दिनहरु उनले विर्सिएका छैनन् । अहिले पनि काठमाडौंमा कोठा भाडामा लिएर बस्ने गरेका उनी संघर्षको समयमा आफूले दुःख र अभावसँग पैठेजोरी खेलेका कारण अरुको समस्या बुझ्ने बताउँछन् ।
‘पेट पाल्नका लागि मैले काठमाडौंमा गरेका दुःख विर्सिएको छैन । त्यसबेला मलाई एक हजारले पनि ठूलो महत्त्व राख्थ्यो । त्यसैले अरुको दुःखमा मेरो पनि मन दुख्छ,’ अभिनेता शाह अगाडि भन्छन्, ‘फिल्ममा ज्याला मजदुरी गर्ने कयैन् प्राविधिकहरुलाई कोठाभाडा तिर्न पनि समस्या छ । यो अवस्थामा सहयोग गर्नुपर्छ भन्ने लागेर आफ्नो तर्फबाट सकेको सहयोग गर्न लागेको हुँ ।’




