चलचित्र पत्रकारहरुको साझा संस्था चलचित्र पत्रकार संघ, नेपालले श्रमजीवि चलचित्र पत्रकारलाई राहत वितरण गर्ने भएको छ । संघको २० वर्ष लामो इतिहासमा पहिलो पटक शनिवार डिजिटल बैठक बसेर केन्द्रीय कार्यसमितिले लकडाउनका कारण श्रमजीवि पत्रकारहरुको दैनिक जीवनमा देखिएका समस्याहरुमा सहयोग पुग्ने गरि राहत प्याकेज वितरण गर्ने घोषणा गरेको हो ।

बैठकपछि संघका महासचिव समीर बलामीले जारी गरेको विज्ञप्तीमा भनिएको छ- ‘हाम्रो सदस्य तथा चलचित्र पत्रकारहरुका लागि दैनिक जीवनमा देखिएका समस्याहरुमा सहयोग पुग्ने गरि राहत प्याकेज वितरण गर्ने घोषणा संघले गरेको छ । कार्यसमितिका पदाधिकारीहरुको सहयोगमा श्रमजीवी चलचित्र पत्रकारका लागि राहत वितरण गर्न लागेको संघ जानकारी गराउँदछ ।’
कोरोनाका कारण जीविकोपार्जनमा समस्या भएका चलचित्र पत्रकारले संघमा सम्पर्क गर्न सक्ने विज्ञप्तीमा उल्लेख छ । साथै, संघले चलचित्र पत्रकारसँगै सम्पूर्ण नेपालीलाई घरमै विशेष सावधानी अपनाएर सुरक्षित रुपमा बस्न पनि अपिल गरेको छ । ‘लकडाउन’ का कारण चलचित्र पत्रकार संघले डिजिटल बैठक बसेर श्रमजीवि पत्रकारलाई राहत वितरण गर्ने निर्णय गरेको हो ।




