काठमाण्डौ। कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले दुई हप्ता लामो लकडाउन घोषणा गरेपछि अरु क्षेत्रझैँ फिल्म क्षेत्रमा पनि असर परेको छ । कोरोनाको त्रासले गएको एक महिनादेखि फिल्म क्षेत्रका हरेक गतिविधि रोकिएका छन् । कोरोनाको जोखिम न्यूनिकरणका लागि सरकारले डेढ महिनाका लागि सिनेमा हल बन्द गरेको छ भने लकडाउनपछि फिल्मको छायांकन पनि स्थगित भएका छन् ।
यसको प्रत्यक्ष असर फिल्ममा ज्याला मजदुरी गर्ने श्रमिकहरुलाई परेको छ । आर्थिक अवस्था कमजोर भएका प्राविधिकहरुलाई दैनिक छाक टार्नै समस्या हुन थालेपछि अहिले विभिन्न फिल्मकर्मीहरुले सहयोग गरिरहेका छन् । तर, नेपाली फिल्मको सर्वोच्च संस्था चलचित्र विकास बोर्डले यो विपत्तको समयमा प्राविधिकहरुको अवस्था कस्तो छ भन्ने बुझ्न समेत आवश्यक ठानेको छैन ।

फिल्मकर्मीको सहयोगका लागि १८ वर्ष अगाडि विकास बोर्डले चलचित्रकर्मी कल्याणकारी कोष स्थापना गरेको थियो । बरिष्ठ कलाकार बसुन्धरा भुषाल संयोजक रहेको यो कोषमा ३ करोड ८० लाख छ । यसैको ब्याजबाट कोषले समस्यामा रहेका फिल्मकर्मीलाई सहयोग गर्ने गरेको छ । तर, रोजीरोटी गुमेका प्राविधिकलाई सहयोग गर्न यो कोषबाट एक रुपैयाँ पनि निकासा गरिएको छैन ।
यो विपत्तको समयमा चलचित्रकर्मी कल्याणकारी कोषमा रहेको रकमबाट बिहान बेलुका हातमुख जोर्नै समस्या भएका प्राविधिकको परिवारलाई सहयोग गर्न फिल्मकर्मीबाट आवाज उठ्न थालेको छ । फिल्म निर्माता तथा हल सञ्चालक प्रदीप उदयले आइतवार कोषकी संयोजक भुषाललाई फेसबुकमा खुल्ला पत्र लेख्दै कोषबाट अप्ठ्यारोमा परेका प्राविधिकलाई सहयोग गर्न आग्रह गरेका छन् ।
चलचित्रकर्मी कल्याणकारी कोष चलचित्रकर्मीहरुको सहयोगका लागि स्थापना भएको बताउँदै उनले लेखेका छन्, ‘मौकामा हिरा फोड्नु पर्छ भनेझैँ अति नै आवश्यकतामा रहेको ती प्रविधिकहरूलाई त्यो कोष परिचालन गर्नु आवश्यकता हो । अन्यथा यो कोषप्रति नै ती प्राविधिकहरुको आशा एवं विश्वास गुम्नेछ । कोषप्रति विश्वास होस् भन्ने मेरो विशेष उद्देश्य हो ।’
त्यस्तै, अभिनेत्री करिश्मा मानन्धरले पनि फेसबुकमा एक स्टाटस लेख्दै यो विपत्तको समयमा दैनिक जीवनयापन गर्न समस्या हुने प्राविधिकहरुको सहयोगका लागि चलचित्रकर्मी कल्याणकारी कोषमा भएको रकम निकासा गर्न सरकारसँग माग गरेकी छन् । बोर्ड अध्यक्ष विहीन भएकाले सरकार स्वयंले कोषको रकम निकासा गरेर प्राविधिकलाई सहयोग गर्न उनले आग्रह गरेकी छन् ।
तर, चलचित्रकर्मी कल्याणकारी कोषकी संयोजक बसुन्धरा भुषालले यो अवस्थामा कोषको रकम निकासा गर्न नसकिने बताएकी छन् । गरिव, असाहय, विरामी फिल्मकर्मीको सहयोगका लागि कोष स्थापना भएकाले यो विपत्तको समयमा जीविकोपार्जन गर्न समस्या भएका प्राविधिकहरुलाई चाहेर पनि सहयोग गर्न सम्भव नभएको उनको भनाई छ । विपत्तको समयमा समेत खर्च गर्न नमिल्ने कोषको औचित्यमाथि अहिले फिल्मकर्मीहरुले प्रश्न उठाउन थालेका छन् ।




