लकडाउनका कारण घरमै सीमित भएकी अभिनेत्री वर्षा सिवाकोटी सोमवारबाट २७औं वर्षमा लागेकी छन् । उनलाई सामाजिक सञ्जालको माध्यमबाट शुभचिन्तक तथा चलचित्रकर्मीहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । ‘नाईं नभन्नू ल २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले अहिलेसम्म २ दर्जन बढी चलचित्र अभिनय गरिसकेकी छन् । यद्यपि, उनी अभिनीत प्रायः चलचित्र असफल छन् ।
उनी पछिल्लो पटक चलचित्र ‘वीर विक्रम २’ मा देखिएकी थिइन् । यो चलचित्रबाट उनलाई हिटको सुख प्राप्त हुनेमा ठूलो आश थियो । तर, कमजोर धरातलमा टेकेर निर्माण भएको चलचित्रलाई दर्शकले रुचाएनन् । एकपछि अर्को चलचित्र बक्सअफिसमा असफल भइरहे पनि वर्षाको करिअरमा भने कुनै असर परेको छैन । उनलाई चलचित्रमा खेलाउन चाहने निर्माता अझै घटेका छैनन् ।

यही चैत २१ गते उनी अभिनीत नयाँ चलचित्र ‘लक्का जवान’ प्रदर्शन हुँदै थियो । तर, सरकारले ‘लकडाउन’ घोषणा गरेपछि चलचित्र अर्को वर्षका लागि सरेको छ । ‘लकडाउन’ हुनुभन्दा अगाडिसम्म उनी चलचित्र ‘परदेशी २’ को छायांकनमा व्यस्त थिइन् । यो चलचित्रपछि उनले कलाकार तथा निर्देशक रमेश बुढाथोकीले निर्देशन गर्ने चलचित्र ‘सुदूर’ का लागि समय छुट्याउनेछिन् ।
‘परदेशी २’ भन्दा अगाडि उनले सिक्किम पुगेर अभिनेता पुष्प खड्कासँग चलचित्र ‘चालबाज’ को छायांकन भ्याएकी थिइन् । उनको हातमा निर्देशक मिलन चाम्सको ड्रिम प्रोजेक्ट ‘गोर्खा वारियर’ पनि छ । चलचित्रबाट फुर्सद मिलेको समयमा उनी म्यूजिक भिडियो पनि गर्न भ्याउँछिन् । यसैकारण अहिले उनलाई ‘लक्की नायिका’ भन्ने गरिएको छ । अझ भनौं, ‘फ्लप चलचित्रकी हिट नायिका’ ।




