कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि अभिनेत्री तथा उद्घोषिका रीमा विश्वकर्मा घरभित्रै नजरबन्द हुनुपरेको छ । केही वर्षयता उनी घरमा फुर्सदसँग एकदिन पनि बस्न पाएकी थिइनन् । यस वर्षको सुरुवाततिर चलचित्र ‘मिस्टर नेपाली’ को छायांकनमा व्यस्त भएकी उनले त्यसलगत्तै ‘कमेडी च्याम्पियन’ मा होस्टको जिम्मेवारी निभाइन् ।
यो रियालिटी शोको फिनालेको मुखमा देशमा कोरोनाको त्रास फैलिसकेको थियो । शो सकिएपछि उनी वर्षभरीको तनाव भुल्न माल्दिभ्स पुगिन् । त्यहाँ उनी स्विमिङ पुलमा रमाएको तस्विरले केही दिन मिडियामा राम्रै स्थान पाए । कतिपयले भने उनको माल्दिभ्स यात्रालाई बेमौसमको रमाइलो भन्दै आलोचना गरे । किनकि, त्यसबेला देशमा कोरोनाको सन्त्रास फैलिएको थियो ।

सरकार लामो दूरीका हवाई उडान बन्द गर्ने तयारीमा रहेको सुइको पाएपछि रातारात नेपाल ओर्लिएकी रीमा त्यसयता भने घरभित्रै कैद छिन् । ‘लकडाउन’ को समयमा उनले फिल्म, सिरिज र पुस्तक पढेर दिन विताइरहेकी छन् । उनले सामाजिक सञ्जालको माध्यमबाट कोरोना सम्बन्धि सचेतना पनि फैलाइरहेकी छन् । यो समयमा सामाजिक दूरी कायम गर्न उनको अपिल छ ।
यसबीच, अभिनेत्री रीमाले बुधवार फेसबुकमा दुई हात जोडेको आफ्नो एक तस्विर साझेदार गर्दै कोरोनाको यो महामारी चाँडै समाप्त हुने विश्वास व्यक्त गरेकी छन् । उनले अब दुनियाँमा पैसा प्रमुख शक्ति नरहेको पनि उल्लेख गरेकी छन् । उनी लेख्छिन्, ‘दुनियाँ शान्त छ । हावा सफा छ । हामी स्वच्छता र स्वास्थ्यप्रति जागरूक छौं । व्यस्त तालिका विश्राममा बदलिएको छ ।’

उनले अगाडि लेखेकी छन्, ‘फास्ट फूडलाई घरमा पाकेको खानेकुराले प्रतिस्थापन गरेको छ । सबै जना एकअर्कासँग कुरा गर्दै र सँगै भोजन गर्दैछन् । पैसा अब संसारमा प्रमुख शक्ति जस्तो देखिँदैन ।’ यो समयमा सबैले सबैका लागि प्रार्थना गरिरहेको उनको भनाई छ । अहिले एकअर्कासँग कुरा गर्ने र मुस्कुराउने समय रहेको बताउँदै उनले सुरक्षित र सकारात्मक रहन पनि अपिल गरेकी छन् ।




