‘लकडाउन’ मा अनमोलको साथी चलचित्र र म्यूजिक



कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले तीन हप्ता लामो लकडाउन घोषणा गरेपछि आम सर्वसाधारणझैँ कलाकारहरु पनि घरभित्रै सीमित हुनु परेको छ । वर्षमा विरलै घरमा फुर्सदसँग बस्न पाउने सेलिब्रेटीहरु अहिले परिवारसँग दुःख सुःखका कुरा गरेर समय काटिरहेका छन् । आफ्ना शुभचिन्तकहरुलाई घरमै विशेष सावधानी अपनाउन बस्न पनि अपिल गरिरहेका छन् ।

‘लकडाउन’ को समयमा घरभित्रै नजरबन्द हुनु पर्दा कति कलाकारहरु दिक्दार भैसकेका छन् । तर, अहिलेका हटकेक अभिनेता अनमोल केसीको दिनचर्यामा भने खासै असर परेको छैन । किनकि, उनी ‘लकडाउन’ जीवन नै मनपराउँछन् । चलचित्रको छायांकन नहुँदा उनी घरभन्दा बाहिर विरलै निस्कन्छन् । बिहान जिम गएर फर्केपछि घरको पर्खालभित्रै उनको दिन वित्छ ।

‘लकडाउन’ हुनुभन्दा अगाडिसम्म उनी चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त थिए । सरकारले २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन निर्देशन दिएपछि चलचित्रको छायांकन अनिश्चितकालका लागि रोकियो । चलचित्रको छायांकन रोकिएपछि अनमोल घरबाट एकदिन पनि बाहिर निस्किएका छैनन् । आजभोली घरमै चलचित्र हेरेर र गीत सुनेर उनको दिन वित्ने गरेको छ ।

उनी चलचित्र र म्यूजिकलाई आफ्नो जीवनको महत्त्वपूर्ण अंक मान्छन् । बाल्यकालदेखि नै गीतसंगीतमा रुचि भएका अनमोल अभिनयमा होमिएपछि भने चलचित्र हेर्न थालेका हुन् । अहिले उनी चलचित्र ‘पारस’ को स्क्रिप्ट पनि अध्ययन गरिरहेका छन् । अफर आएका अन्य चलचित्रका स्क्रिप्ट पढेर पनि उनको दिन वित्ने गरेको छ । उनी आफूले पालेको कुकुरसँग पनि केही समय खेल्छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu