कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले तीन हप्ता लामो ‘लकडाउन’ घोषणा गरेपछि देशभरका विभिन्न ठाउँमा रगत अभाव भएको छ । रगतको अभावलाई मध्यनजर गर्दै चलचित्र ‘प्रेमगीत ३’ को टिमले बिहीवार रक्तदान गरेको छ । यो चलचित्रसँग सम्बन्धित ४० जनाले रक्तदान गरेको निर्देशक, कलाकार तथा निर्माता सन्तोष सेनले फेसबुकमार्फत् जानकारी दिएका छन् ।

उनले सामाजिक दूरी कायम गरेर रक्तदान गरिएको बताए । निर्माता सेनसँगै ‘प्रेमगीत ३’ का प्रमुख अभिनेता प्रदीप खड्का, नव-अभिनेत्री क्रिस्टिना गुरुङ, गायक प्रताप दास, गायिका प्रविशा अधिकारी, नव-अभिनेता मनिष राउतलगायतले राजधानीमा रहेको ग्रिनसिटी हस्पिटलमा पुगेर रक्तदान गरेका हुन् । २/२ जना गरि पालैपिलो रक्तदान गरिएको निर्माता सेनले जानकारी दिए ।
उनका अनुसार, अहिलेसम्म ४० प्याकेट रगत संकलन भइसकेको छ । साँझसम्म ५० प्याकेट रकम संकलन हुने अनुमान निर्माण टिमको छ । उनले भने- ‘लकडाउनपछि रगत बैंकमा रगत अभाव भएको छ । रगतको अभावलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरेर हामीले रक्तदान गरिरहेका छौं ।’ उनले सबैलाई आ-आफ्नो स्थानबाट सकेको प्रयास गर्न पनि आग्रह गरेका छन् ।

आफूहरुले गरेको रगत देशभर पुग्न नसके पनि सबैले एउटा समुह बनाएर भीडभाड नगरि रक्तदान गर्न सके विभिन्न रोगसँग लडिरहेका विरामीलाई जीवनदान मिल्ने निर्माता सेन बताउँछन् । यसअघि ‘प्रेमगीत ३’ टिमले ११ हजार मास्क वितरण गरेको थियो । सन्तोष सेन र छेतेन गुरुङ निर्देशित यो चलचित्रको प्रदर्शन कोरोनाका कारण अनिश्चितकालका लागि स्थगित गरिएको छ ।




