कोरोना भाइरसको महामारीको समयमा अभिनेत्री निरुता सिंह कहाँ छिन् भन्ने चासो धेरैलाई हुनसक्छ । अहिले उनी भारतको मुम्बईमा आफ्नो परिवारसँग छिन् । गएको कात्तिकमा उनी एक चलचित्र महोत्सवमा सहभागी हुन नेपाल आएकी थिइन् । कोरोनाको संक्रमण फैलिन थालेपछि भारत सरकारले २१ दिनका लागि लकडाउन घोषणापछि निरुता घरभन्दा बाहिर निस्किएकी छैनन् ।
लकडाउनको समय सदुपयोग गर्दै निरुताले झण्डै डेढ दशक अगाडि एक चलचित्रको छायांकनको क्रममा आफ्नो क्यामेरामा कैद गरेको श्रव्यदृश्य युट्युबमा अपलोड गरेकी छन् । उनले आफ्नै युट्युब च्यानलमा राखेको भिडियो चलचित्र ‘सन्तान थरी थरीका’ को गीत ‘रुपै राम्रो मोहनी’ छायांकन हुँदाको हो । भिडियोमा निरुतासँगै दीलिप रायमाझी र दीपकराज गिरीलाई देख्न सकिन्छ ।

भिडियोमा अभिनेत्री निरुता गीतका लागि आफ्नो सिन दिँदै गरेकोदेखि अभिनेता द्वय दीलिप र दीपकलाई साडी लगाइदिएको र आफ्ना प्रशसंकले अटोग्राफका लागि घेरेका दृश्यसम्म छन् । उनले यो भिडियो आफ्नो फेसबुकमा साझेदार गर्दै आफू हरेक फिल्मको छायांकनमा जाँदा सधैं क्यामेरा लिएर जाने गरेको र चलचित्रको छायांकनका हरेक पल कैद गर्ने गरेको बताएकी छन् ।
उनले लेखेकी छन्, ‘म सुटिङमा जाँदा हमेशा आफूसँग क्यामेरा लिएर जाने गर्थेँ । किनकि, त्यो समयमा अहिले जस्तो स्मार्ट फोनहरु थिएन । मलाई सुटिङको हर एक पललाई संगालेर राख्ने इच्छा हुन्थ्यो । मलाई त्यो बेला सबैले यति धेरै भिडियो बनाएर के गर्छौ भनेर सोध्थे । म सधैं भन्ने गर्थेँ कि यो म पछि बुढेस्कालमा परिवारसँग बसेर हेर्नेछु अनि यो रमाइलो पलहरुलाई सम्झनेछ ।’
बुढेस्कालमा परिवारसँग बसेर हेर्नका लागि खिचेका भिडियोहरु अहिले कोरोना भाइरसको महामारीका कारण घरभित्रै बन्द भएर हेर्नुपर्छ भनेर आफूले कहिल्यै नसोचेको उनले फेसबुकमा उल्लेख गरेकी छन् । निरुता सिंह थप्छिन्, ‘यो मुश्किलको घडीमा त्यो रमाइलो पलहरूलाई हजुरहरूसँग शेयर गरेर अलिकति भए पनि सबैको ओठमा हाँसो ल्याउने सानो प्रयास गरेको छु ।’
भिडियो हेर्नुहोस् :-




