लामो समयदेखि अध्ययनको शिलशिलामा अमेरिकामा बस्दै आइरहेकी अभिनेत्री तथा भलिबल खेलाडी सिपोरा गुरुङले शक्तिशाली देशमा भएर पनि कोरोना भाइरसका कारण असुरक्षित अनुभूति गर्नु परेको इन्स्टाग्राममा उल्लेख गरेकी छन् । अहिले कोरोनाले नदुखेको ठाउँ संसारमा नभएको भन्दै उनले नयाँ वर्षसँगै कोरोनाको कहर सधैंका लागि दूर हुने विश्वास व्यक्त गरेकी छन् ।

उनी लेख्छिन्, ‘नयाँ वर्षको शुभकामना । कोरोनाले नदुखेको ठाउँ संसारमा सायदै होला । आफू शक्तिशाली देशमा भएर पनि असुरक्षित अनुभूति गर्नु आफैँमा विडम्बना हो । प्राकृतिक शक्तिका सामु मानव निर्मित शक्तिको केही चल्दो रहेनछ । जीवन रहे संसार रहन्छ । जीवनसँगै मानवताको रक्षका लागि जुटौँ । व्यक्तिगत स्वार्थबाट उठेर सिंगो मानव-सभ्यताको रक्षाका लागि लागौँ ।’

हरेक विपत्तिहरुले एउटा न एउटा पाठ सिकाएर जाने उनको भनाई छ । सिपोरा अगाडि लेख्छिन्, ‘हामीले हाम्रो प्राचिन सभ्यतालाई भित्रैबाट स्पर्श गर्ने समय आएको छ । चिन्तालाई छाडेर संसारको हित हुने चिन्तनमा लागौँ । नयाँ वर्ष २०७७ सँगै विश्वबाट कोरोना कहर सधैँको लागि दूर होओस् ।’ चलचित्र ‘भूईंमान्छे’ पछि सिपोरा गुरुङ काँचको पर्दामा देखिएकी छैनन् ।




