कस्तो रह्यो पूजा, साम्राज्ञी र स्वस्तिमाका लागि वर्ष २०७६ ?



गत वर्ष २०७६ नेपाली चलचित्रका तीन अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, पूजा शर्मा र स्वस्तिमा खड्काका लागि सुखद बन्न सकेन । साम्राज्ञी र स्वस्तिमाको गत वर्ष दुई चलचित्र प्रदर्शनमा आएका थिए भने पूजाको एउटा मात्र चलचित्र प्रदर्शनमा आयो । साम्राज्ञीको भदौमा ‘मारुनी’ र असोजमा ‘रातो टीका निधारमा’ प्रदर्शनमा आएका थिए, तर यी दुवै चलचित्रले असफल भए ।

साम्राज्ञीको स्टारडमले यी दुई चलचित्रको इनिसियल व्यापार राम्रो हुने अपेक्षा गरिएको थियो । तर, विभिन्न खाले विवादका कारण कमजोर भएको उनको स्टारडमले हलसम्म दर्शक तान्न सकेन । डेढ महिनाको अन्तरमा दुई चलचित्र डिजास्टर सावित हुँदा साम्राज्ञीको करिअर नै संकटमा परेको छ । अब, उनी राम्रो स्क्रिप्टबाट अफर आए वर्षमा एउटा मात्र चलचित्र गर्ने सोचमा छिन् ।

त्यस्तै, चलचित्र ‘म यस्तो गाीत गाउँछु’ ले पूजा शर्मालाई आफ्नै काँधमा चलचित्र बोक्न सक्ने अभिनेत्रीको रुपमा चिनाएको थियो । तर, गत वर्ष उनी पनि हलमा दर्शक तान्न असफल रहिन् । उनी अभिनीत चलचित्र ‘पोइ पर्‍यो काले’ गत वर्षको कात्तिकमा प्रदर्शनमा आएको थियो । निर्माताले हलबाट लगानी उठाएको दाबी गरे पनि वास्तवमा चलचित्रले बक्सअफिसमा घुँडा टेकेको थियो ।

चलचित्र ‘बुलबुल’ बाट वाहवाही बटुलेकी अभिनेत्री स्वस्तिमा खड्काले पनि गत वर्ष आफ्नो जादू देखाउन सकिनन् । साउनमा ‘हजार जुनीसम्म’ र कात्तिकमा प्रदर्शन भएको ‘घामड शेरे’ दुवै बक्सअफिसमा निकम्बा सावित भए । यी चलचित्र सफलताबाट मात्र बञ्चित भएनन्, स्वस्तिमाको अभिनयको पनि प्रशंसा भएन । अर्थात्, ‘बुलबुल’ ले बनाएको साख उनले बचाउन सकिनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu