कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न सरकारले तीन हप्ता लामो लकडाउनको घोषणा गरेको छ । जसका कारण चलचित्र क्षेत्रलाई करोडौंको नोकसान भएको छ । लकडाउन भएसँगै सिनेमा हलदेखि चलचित्रको छायांकन र प्रदर्शनसम्म सबै रोकिएका छन् । यो अवस्थामा निर्माताले सामाजिक सञ्जालको माध्यमबाट पनि नयाँ चलचित्रको घोषणा गर्न सकेका छैनन् ।

यसबीच, नयाँ वर्ष २०७७ सालको अवसर पारेर ‘नाइके’ फेम्ड निर्देशक नेत्र गुरुङले सामाजिक सञ्जाल फेसबुकबाट नयाँ चलचित्र ‘खैला बैला’ को निर्माण घोषणा गरेका छन् । नेत्र इन्टरटेन्मेन्टको ब्यानरमा चलचित्र निर्माण हुन लागेको हो । निर्देशक गुरुङ लकडाउनको समय सदुपयोग गर्दै चलचित्रको स्क्रिप्टलाई अन्तिम रुप दिन लागिपरेका छन् । चलचित्रको कथा उनी स्वयंको हो ।
‘खैला बैला’ मा अभिनय गर्ने कलाकारको भने अहिलेसम्म टुंगो लागेको छैन । निर्देशक नेत्र गुरुङले चलचित्रमा नयाँ तथा पुराना कलाकारको समिश्रण हुने जानकारी दिए । लकडाउन हटेपछि नयाँ कलाकारका लागि अडिसन आह्वान गर्ने तयारीमा निर्माण टिम छ । कलाकार र प्राविधिकको फाइनल भएपछि चलचित्रको एक कार्यक्रमका बीच निर्माण घोषणा गरिने निर्देशक गुरुङले बताए ।




