हामी फुस्रो भए पनि सडक चिल्लो हुँदैछ : दीपकराज गिरी



विश्व स्वास्थ्य संगठनले महामारीको रुपमा घोषणा गरेको कोरोना भाइरस (कोभिड १९) बाट अहिले सारा विश्व नै त्रसित छ । भाइरस नियन्त्रण तथा रोकथाम गर्न विभिन्न देशहरुले लकडाउन लागू गरेका छन् । नेपालमा पनि लकडाउन जारी छ । केही दिनअघि थप दुई जनामा यो भाइरसको संक्रमण देखिएपछि यही बैशाख १५ गतेसम्मलाई सरकारले लकडाउन अवधि लम्ब्याएको छ ।

लकडाउनका कारण सेलिब्रेटीहरु पनि घरभित्रै कैद भएका छन् । चर्चित कलाकार दीपकराज गिरी भने एफएमका कार्यक्रम समेत चलाउने हुँदा हप्तामा एक दिन बाहिर निस्कने गर्दछन् । बुधवार एफएम जाने क्रममा उनले नीलो रंगको टोपी, कालो रंगको मास्क र चस्मा लगाएर काठमाडौंको सडकमा खिचेको एक तस्विर फेसबुकमा पोस्ट्याउँदै ‘यो म नै हुँ’ भनेर आफूलाई चिनाएका छन् ।

कलाकार दीपकराज गिरीले अहिले मान्छेसँग डर लाग्ने गरेको बताउँदै लेखेका छन्, ‘पहिला पहिला, बाटोमा मान्छेले चिन्लान् भनेर मास्क लगाउथेँ । आजकल कोरोनाले नचिनोस् भनेर लगाउँछु । पहिला बाघ, भालुसँग डर लाग्थ्यो, आजकल मान्छेसँगै नै डर लाग्छ । तर, जे हुँदैछ केही न केही राम्रोको लागि हुँदैछ ।’ उनले पोस्ट्याएको तस्विरमा काठमाडौंको सडक चिल्लो देखिएको छ ।

उनले घरमा बसेर आफूहरु फुस्रो भए पनि राजधानीको सडक चिल्लो भइरहेकोमा खुसी व्यक्त गरेका छन् । उनी लकडाउन हुनुभन्दा अगावैदेखि यस वर्षको दशैंको फूलपातीमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘छक्का पञ्जा ४’ को स्क्रिप्ट लेख्नका लागि होम क्वारेन्टाइनमा बस्न थालेका थिए । उनको टिमले रोजीरोटी गुमेका फिल्म प्राविधिकलाई आर्थिक सहयोग पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu