कोरोना भाइरसको संक्रणम फैलिन नदिन सरकारले जनतालाई घरभित्रै राख्न लकडाउनको घोषणा गरेको छ भने कोरोना सम्बन्धि जनचेतना पनि फैलाइरहेको छ । सरकारको यो कार्यमा हातेमालो गर्न नेपालका ठूला व्यापारिक घरानाहरुले राहत कोषमा आर्थिक सहयोग गरिरहेका छन् । तर, अभिनेत्री वर्षा सिवाकोटीबाहेक अन्य नेपाली कलाकारहरुले भने सहयोग गरेका छैनन् ।
नेपाली चलचित्रका एक्सन स्टार विराज भट्टले कोरोना भाइरस रोकथामका लागि ८ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको खबरले केही दिनयता सामाजिक सञ्जाल खुबै तातेको छ । तर, यो कुराको जानकारी विराज स्वयंले नदिएका कारण धेरैलाई विश्वास लागेको थिएन । यसबीच, उनले ठूलोपर्दासँग फोनवार्तामा आफूले सहयोग घोषणा गरेको कुरा हल्ला मात्र रहेको बताए ।

लकडाउनपछि परिवारसँग भक्तपुरको बालकोटस्थित रोज भिलेजमा बस्दै आएका अभिनेता भट्टले भने- ‘मैले अहिलेसम्म आर्थिक सहयोगको कुनै घोषणा गरेको छैन । सामाजिक सञ्जालमा मैले ८ लाख दिन लागेको भन्ने हल्ला फैलिएको रहेछ । त्यो हल्ला कसले फैलायो मलाई थाहा भएन । तर, मैले कोरोना रोकथामका लागि अहिलेसम्म आर्थिक सहयोग दिने घोषणा गरेको छैन ।’
उनले कोरोनाबाट बच्न लकडाउनको पालन गर्न र अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर ननिस्कन पनि आग्रह गरे । ‘यो भाइरसले धनी/गरिब कसैलाई पनि चिन्दैन । सरकारले हाम्रै हितका लागि लकडाउन गरेको हो । त्यसैले घरभित्रै बसेर कोरोनाविरुद्धको लडाईंमा सहभागी हौं,’ अभिनेता भट्टले भने । उनी अभिनीत चलचित्र ‘साङ्लो’ गत वर्ष प्रदर्शनमा आएको थियो ।




