काठमाण्डौ। चलचित्र पत्रकार संघ नेपालले २१ औं वार्षिकोत्सव तथा स्थापना दिवस डिजिटल माध्यमबाट मनाएको छ । बुधवार इन्टरनेट च्याटरुमको प्रयोग करिब ८० जनाको सहभागितामा वार्षिकोत्सव मनाइएको हो ।
कोरोना भाइरको माहामरीको बीच आफ्ना सदस्यहरु तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरु भर्चुअल कार्यक्रममा सहभागी बनेका थिए । कार्यक्रममा चलचित्र विकास वोर्डका सदस्य सचिव महेन्द्र प्रसाद साँखी, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी,चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणा, चलचित्र संघका निवर्तमान अध्यक्ष प्रदिप कुमार उदय, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालगायत प्रतिनिधिहरु सहभागी भएका थिए । सबै अतिथीहरुले चलचित्र पत्रकारिता दिवसको शुभकामना दिएका थिए ।
संघका संस्थापक अध्यक्ष अमेरिकाबाट कार्यक्रममा सहभागी बनेका थिए भने निर्वतमान अध्यक्ष सन्दिप सापकोटा, पूर्व अध्यक्षहरु विदुर गिरी र शान्तिप्रिय, संघका सल्लाहकारहरु विजयरत्न तुलाधर र डब्बु क्षेत्री नेपालको विभिन्न ठाउँहरुबाट एकसाथ सहभागी बने । त्यसैगरी संघका विभिन्न शाखाबाट अध्यक्षहरु तथा सदस्यहरु समेत कार्यक्रममा सहभागी बनेका थिए ।

शुभकामना दिने क्रममा नेपालको चलचित्रको श्रीवृद्दीमा चलचित्र पत्रकारिताको भुमिकाको चर्चा पनि भएको थियो । हाल बिषम परिस्थिति सिर्जना भएकोले यो वर्ष प्रदान गर्नु पर्ने सम्मान हाल घोषणा नगरिएको र परिस्थिति अनुकुल भएपछी सो सम्मान र पुरस्कार प्रदान गरिने संघका अध्यक्ष दिनेश सिटौलाले बताए । महासचिव समीर बलामीले अहिलेको अवस्थामा दैनिक जीवनमा कठिनाई भोगिरहेका संघका सदस्यहरुका लागी प्रथम चरणको राहत उपलब्ध गराएको कुरा उल्लेख गर्दै अब दोश्रो चरणको राहतमा दैनिक उपभोग्य सामग्रीहरुका साथमा संक्रमणबाट जोगिनका लागी प्रयोग गरिने स्वास्थ्य सामग्री समेत उपलब्ध गराउने योजना रहेको बताए ।
चलचित्र पत्रकार संघ नेपाल स्थापना भएको दिन वि.सं. २०५६ साल जेठ ७ गतेलाई मानिन्छ । हरेक बर्ष सोही मितिलाई संघको वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवस मनाउने गरिएको छ ।




