‘लोकप्रिय मौलिक चलचित्र’ लाई प्रोत्साहित गरौं : दीपकराज गिरी



बिहीवार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक बर्ष २०७७–०७८ को बजेटमा नेपाली चलचित्र क्षेत्रलाई पनि समेटिएको छ । बजेटमा सातै प्रदेशमा चलचित्र छायांकनका लागि स्थल बनाइने, मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गरिने, कलाकार संघको भवनका लागि आवश्यक बजेट छुट्याइने, नेपाली चलचित्रको सुरक्षित भण्डारण गर्न चलचित्र विकास बोर्डलाई आवश्यक बजेटको व्यवस्था गरिने उल्लेख छ ।

अघिल्ला आर्थिक वर्षभन्दा यसपटक सरकारले नेपाली चलचित्र क्षेत्रलाई केही हदसम्म सम्बोधन गरेकामा चलचित्रकर्मी खुसी छन् । तर, हास्यकलाकार तथा निर्माता दीपकराज गिरी मौलिक चलचित्रलाई प्रोत्साहित गर्ने सरकारको निर्णयबाट खुसी छैनन् । उनले शुक्रवार आफ्नो आधिकारिक फेसबुकमा लामो स्टाटस लेख्दै ‘कस्तो चलचित्रलाई मौलिक चलचित्र भन्ने ?’ भन्दै सरकारलाई प्रश्न गरेका छन् । मौलिक चलचित्रको नाममा कथित मौलिक चलचित्रलाई प्रोत्साहित गरिएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले ‘लोकप्रिय मौलिक चलचित्र’ लाई प्रोत्साहित गर्नुपर्ने तर्क अगाडि सारेका छन् ।

उनी लेख्छन्, ‘मौलिक चलचित्र निर्माणलाई बजेट छुट्याइएको छ, सुन्दा राम्रो छ । मौलिक चलचित्र छनोट गर्ने संयन्त्र चाहिँ कुन हो ? त्यहि परम्परागत शैली नै होला । कस्तो चलचित्र मौलिक हो ? पटक पटक दर्शकले पूरै अस्वीकार गरेको चलचित्र ? हलमा आधा घन्टामै दर्शक निदाउने चलचित्र ? केही पत्रकार र समिक्षकले थपडी मारेका चलचित्र ? विगतमा यस्ता चलचित्रहरूलाई बारम्बार नगद र अवार्डवाट पुरस्कृत गर्दै आइरहेको छौं हामी । त्यसैले होला हाम्रा ९८ प्रतिशत फिल्म पनि त्यस्तै बनिरहहेका छन् ।’

मनोरञ्जन क्षेत्र विदेशी चलचित्रको भरमा टिकिरहेको उल्लेख गर्दै उनी थप्छन्, ‘हलिउड र बलिउडकै दवदबालाई स्वीकार गर्न बाध्य छौं हामी । किनकि, हामी कथित मौलिक चलचित्रलाई मात्रै प्रोत्साहित गर्दैछौं । चलचित्रको आन्तरिक बजारलाई कमजोर छोडेर धानका वालाका पछाडि मात्रै लाग्नु र दराजमा अवार्ड जम्मा पारेर मख्ख पर्नु भनेको घर भत्केर के भो आँगन छँदैछ नि भनेर मख्ख परे जस्तो मात्रै हो । अतः ‘लोकप्रिय मौलिक चलचित्र’ निर्माणलाई प्रोत्साहित गर्नुपर्‍यो । दर्शक नभएको रंगशाला, कविता सुन्ने श्रोता नभएको कवि सम्मेलन, मतदाता नभएको निर्वाचन र दर्शक नभएको चलचित्र भवन उस्तै हो ।’

चलचित्र उद्योग बचाउन सके मात्र राम्रा चलचित्रका लागि सम्भावनाको ढोका खुल्ने बताउँदै उनले कला र व्यापार दुवैको अस्तित्व स्वीकार गर्नुपर्ने उल्लेख गरेका छन् । एक पक्षलाई पक्षपोषण गर्ने परम्परागत शैली बन्द गर्न आग्रह गर्दै कलाकार गिरीले यस वर्षको बजेटमा पहिलाभन्दा धेरै ठाउँमा नेपाली चलचित्रलाई सम्बोधन गरिएकोमा खुसी व्यक्त गरेका छन् । तर, विदेशी र नेपाली चलचित्रको टिकट मुल्य समान नहोस् भन्ने आवाज यसपटक पनि सरकारले नसुनेकोमा उनले असन्तुष्टि पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu