शुरु भए पार्किंगमा हेरिने चलचित्र ‘ड्राइभ-इन’, नेपालमा सम्भव छ ?



काठमाडौँ।
अहिले प्रविधिले फड्को मारेर ‘ग्लोबल भिलेज’को अवधारणामा विश्व रुपान्तरण भइरहेको समयमा एकाएक कोरोना भाइरसको महामारी संसारभर नै फैलियो । जसको कारण मानिसहरु नै एकअर्कामा नजिक हुन नसक्ने अवस्था सिर्जना भयो । यो माहामारीले संसारभरमा चलचित्रप्रेमीहरुबीच निराशा छायो । अहिले सोहि महामारीले नै चलचित्रप्रेमीको लागी पुन: बाटो खोलिदिएको छ, ‘ड्राइभ-इन सिनेमा’ । यद्यपी ‘ड्राइभ-इन सिनेमा’को अवधारणा भने झण्डै नब्बे बर्ष पुरानो हो ।

कोरोनाभाइरस महामारीको क्रममा निराश बनेका दर्शकहरुको लागी यो एउटा खुशीको खबर हो । यो खबरले तमाम चलचित्र मेकरहरुलाई पनि पक्कै खुशी दिलाउनेछ । कोरोना महामारीको बीच पनि यूनाइटेड अरब इमिरेट्समा पनि चलचित्र प्रदर्शन शुरु भएको छ । संसारकै सबैभन्दा ठुलो मानिएको शपिंग मलको रुफटप पार्किंगमा शुरु गरिएको चलचित्र प्रदर्शनीले अहिले संसारको ध्यान खिचेको छ । ‘ड्राइभ-इन’ नाम दिइएको यो शैलीले कोरोना संक्रमणको जोखिमबाट सुरक्षा प्रदान गर्दै चलचित्र हेर्ने चाहना पुरा गर्छ ।

यूएइको भिओएक्स सिनेमाले थिएटरकै अनुभव दिने गुणस्तरमा अहिले यो सेवा यो साताको बुधवारदेखी शुरु गरेको छ भने अन्य केहि देशले पनि यसको शुरुवात गरेका छन् । ‘ड्राईभ-इन थिएटर’को प्राक्टीस विश्वभरी नै पुन: शुरु भएको हो ।

Copy of 2020-05-13T173926Z_46646909_RC2TNG9MRJR0_RTRMADP_3_HEALTH-CORONAVIRUS-EMIRATES-CINEMA-1589435448949
Mall of the Emirates
Image Credit: gulfnews.com/Reuters

दुबईको मल अप इमिरेट्सको पार्किंगमा शुरु भएको ‘ड्राइभ-इन सिनेमा’मा एक पटकमा ७५ वटा कारले स्थान पाउँछन् भने प्रत्येक कारमा दुई जनाले मात्र बस्ने अनुमती पाउँछन् । एक कारले १८० दिराम अर्थात करिब ६ हजार नेपाली रुपैयाँको टीकट लिनुपर्नेछ । उक्त टीकटमा पपकर्न, स्न्याक्स र पेय पदार्थ पनि पाइन्छ ।

पछिल्लो हप्ता लिथुआनियाको राजधानी भिलनिसको एयरपोर्टमा बनाइएको ड्राइभ-इन थिएटरमा अस्कर अवार्ड विजेता चलचित्र ‘प्यारासाइट’ स्क्रीनिंग गरिएको थियो । यो स्क्रीनिंग एयरपोर्ट र भिल्नियस अन्तर्राष्ट्रिय फिल्म फेस्टीवलद्वारा संयुक्त रुपमा गरिएको थियो । जहाँ १५० वटा कारमा दर्शक बसेर हेरेका थिए । यहाँ हरेक हप्ता स्क्रीनिंगको योजना बनाइएको छ ।

Lithuanian International Airport Turned Into Drive-In Cinema / April 29, 2020

दक्षिण कोरियामा पनि त्यस्ता थिएटरहरू मार्च देखि पुन: शुरु भएका छन् । फाइनान्सियल टाइम्सको एक रिपोर्ट अनुसार दक्षिण कोरियामा सन् १९९४ मा नै ‘ड्राईभ-इन थिएटर’ शुरु भएको थियो । सन् २००७ सम्ममा त्यहाँ ६० वटा यस्ता थिएटर संचालनमा थिए । अहिले पनि त्यहाँ २१ वटा यस प्रकारका सिनेमा थिएटरहरु छन् ।

जर्मनीमा पनि यस प्रकारका थिएटर सन् १९७० बाट प्रचलनमा थिए । अहिले पुन: ति थिएटरहरु संचालनमा आएका छन् र कोरोना महामारीका बीच त्यहाँ यसको माग निकै बढेको छ । यहाँ पनि मार्च देखी ‘ड्राइभ-इन सिनेमा’ चलिरहेका छन् ।

Hundreds of people sit in their cars watching a movie trailer at a drive-in cinema, as all other theaters in Germany are closed due to the coronavirus in Essen, Germany, on Monday, March 30, 2020.
Essen, Germany, on March 30, 2020. /AP

अमेरिकाको केहि स्थानमा पनि ‘ड्राइभ-इन सिनेमा’ पुन: शुरु भएका छन् । पार्किंग व्यबस्थापनमा निकै अब्बल रहेको अमेरिकामा यो अवधारणालाई उत्साहित मानिएको छ । सबैभन्दा पहिले सन् १९३३ मा अमेरिकाको न्यू जर्सीबाट नै ‘ड्राइभ-इन सिनेमा’को अवधारणा शुरुवात भएको थियो । सन् १९५० को दशकमा अमेरिकामा भएको तीव्र विकास र आधुनिक सिनेमा हलहरुले ‘ड्राइभ-इन सिनेमा’लाई बिस्थापित गरेको थियो । आज कोरोना भाइरसको महामारीको कारण विश्व नै आक्रान्त भईरहेको समयमा ‘ड्राइभ-इन सिनेमा’ले चलचित्र प्रेमीहरुलाई केहि राहत दिएको छ ।

के हो ‘ड्राइभ-इन थिएटर’ ?
महामारीको कारणले विश्वभरका सिनेमाहरू बन्द भएपछि ‘ड्राईभ-इन थिएटर’हरू सार्वजनिक रूपमा सिल्भर स्क्रिनको मजा लिनको लागि एक मात्र सुरक्षित तरिका बनेका छन् ।

ठुलो क्षेत्रफलमा बनेको कार पार्किंगमा ठुलो स्क्रिन राखिएको हुन्छ । उक्त स्क्रिनमा दृश्य मात्र हेर्न मिल्छ भने अडियो आफ्नै कारमा लिंक हुन्छ । कारमा आफ्नो सुविधा अनुसार अडियो सुन्न सकिन्छ । उदाहरणको लागी दुबईको थिएटरमा १९.५ मिटर चौडाइ तथा ८.४ मिटर उचाई रहेको स्क्रिन पार्किंग आधारको ४ मिटर माथी राखिएको छ ।

यस प्रकारको थिएटरमा रातीको समयमा मात्र सिनेमा स्क्रिनिंग हुन्छ । चलचित्र हेर्नको लागी स्क्रिन बाहेक अन्य प्रकाश बन्द हुनुपर्ने भएकोले दिउसोको समयमा प्रभावकारी हुँदैन ।

30 Classic Drive In Movie Theaters - Best Drive in Theaters in America
Image Credit: Countryliving.com/GETTY IMAGES

के नेपालमा ‘ड्राइभ-इन सिनेमा’ सम्भव छ ?
नेपाल जस्तो अल्पविकसित देशमा भने तत्कालको लागि यो सुविधा कागको लागी पाकेको बेल नै साबित हुनसक्छ तर यसबाट हामी टाढा भने भइहाल्नु पर्दैन । नेपालमा पनि केहि त्यस्ता शपिंग मलहरु संचालनमा छन् जहाँ प्रशस्त पार्किंग व्यबस्थित गरी राखिएको छ । बिशेष गरी राजधानीमा यस प्रकारमा मलहरुको चलन बढि छ भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पनि कार पार्किंग केहि व्यबस्थित छ ।

नेपालमा चैत्र महिनादेखी चलचित्र हलहरु बन्द छन् भने कहिले सम्म बन्द रहनुपर्ने हो यसै भन्न सकिने अवस्था छैन । यहि समयमा नेपालमा पनि ‘ड्राइभ-इन सिनेमा’ शुरु गर्न सकिन्छ । यो थिएटरमा टीकटको मूल्य बढि पर्न आउने र पार्किंग स्थलको क्षेत्रफल पनि धेरै चाहिने हुँदा नेपालमा यसको परिकल्पना अलिक जटिल भने हुनेछ ।

बजार व्यवस्थापन रणनीतिज्ञ जीतेन्द्र खतिवडाले नेपालमा यस प्रकारको थिएटरको अवधारणालाई नकार्न नसकिएपनि तत्कालको लागी कम सम्भावना रहेको बताउँछन् । ‘यो पार्किंग स्थलमा हुने भएकोले यसको लागी ठुलो क्षेत्रफलको जरुरत पर्छ । नेपालका अन्डरग्राउण्ड पार्किंगमा प्रभावकारी नहुन सक्छ किनकी हामीकहाँ थोरै क्षेत्रफल तथा उचाई पनि निकै कम छ’ ।

‘र अर्को कुरा यसका दर्शक कार चढेर आउनु पर्ने हुन्छ र यो निकै महंगो पर्न आउने हुँदा दर्शकको साथ कति हुन्छ यसै भन्न सकिदैन । व्यापार राम्रो हुन पनि सक्छ र डुब्ने जोखिम पनि उत्तीकै हुन सक्छ’, ड्राइभ-इन थिएटरको अध्ययन गरिरहेका खतिवडाले बताए ।

यतिबेला संसारभर चासोका रुपमा लिइएको ‘ड्राइभ-इन थिएटर’हरूको भविष्य भने अज्ञात छ । आधुनिक सिनेमा हलहरुको समयमा बन्द हुन पुगेको विश्वलाई यस प्रकारका थिएटरले केहि राहत दिएता पनि समस्या महामारीको समस्या समाधान हुनासाथ पुन: लोप हुने सम्भावना भने निकै छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu