बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ । सयभन्दा बढी चलचित्रमा जीवन्त अभिनय गरेका उनको आइतवार बिहान आफ्नै निवास एकान्त कुनामा ९१ वर्षको उमेरमा निधन भएको हो । उनको आइतवार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । एक छोरी र श्रीमतीसँग बस्दै आएका उनी लामो समयदेखि सुगर, प्रेसर जस्ता रोगबाट पीडित थिए ।

चलचित्र ‘जीवन रेखा’ बाट अभिनय करिअर सुरुवात गरेका कलाकार ठकुरी प्यारालाइसिसका कारण लामो समय ह्विलचियरमा विभिन्न कार्यक्रममा सहभागी हुने गरेका थिए । तर, सुगर, प्रेसर जस्ता रोग थपिँदै गएपछि उनी विना कसैको सहारा उठ्न पनि नसक्ने भएका थिए । उनको कहिलेकाहिँ बोली आउने र जाने गरेको पनि पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उनले चलचित्रसँगै थुप्रै टेलिसिरियल र म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । उनी पछिल्लो पटक चलचित्र ‘भागी भागी नजाऊ’ मा नदेखिएका थिए । ‘विश्वास’, ‘भाग्य रेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘युद्ध’ लगायतका थुप्रै चलचित्रमा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका चन्दले भारतीय चलचित्र ‘पञ्चओटी’ तथा पाकिस्तानी एक चलचित्रमा समेत अभिनय गरेका छन् ।




