जातीय विभेदको अन्त्यका लागि आवाज उठाऔं : वर्षा



जाजरकोटका युवा नवराज विकसहित ५ जनाको हत्याको घटनालाई लिएर नेपाली चलचित्रकर्मीर्मीहरुले आफ्नो भनाई सार्वजनिक गरिरहेका छन् । केही दिनअघि अभिनेता राजेश हमालले जातको आधारमा अपराधिक क्रियाकलाप गर्नेलाई कानुन बमोजिम कडाभन्दा कडा सजायको माग गरेका थिए । यसबीच, अभिनेत्री वर्षा सिवाकोटीले पनि उक्त घटनाको भत्र्सना गरेकी छन् ।

सोमवार आफ्नो आधिकारिक फेसबुकमा एक भिडियोमार्फत् जाजरकोट घटनाबारे भनाई राख्दै अभिनेत्री सिवाकोटीले भनेकी छन्, ‘शतप्रतिशत पुष्टि नभए पनि अहिलेका लागि सत्य यही होकि नवराज विक र उनका साथीहरुको हत्या जातीय विभेदले भएको थियो । आफ्नो छोराको कमाई खाले बेलामा छोराको शोक उठाउनु पर्दा त्यो जत्तिको पीडा आमा बुबालाई के होला ?’

उनले अगाडि भनेकी छन्, ‘परिवारको सहमती नभए पनि दुवै पक्षलाई उनीहरुको सम्बन्धको बारेमा जानकारी थियो । साथै, सुष्माले नै नवराजलाई साथीहरुको समुहसहित आउन भनेकी थिइन् र उनीहरु आउँदै गरेको कुरा पनि सुष्माको परिवारलाई थाहा थियो भने नवराज कसरी अपहरणकारी भए ? त्यस्तो कुनै समस्या थियो भने प्रहरीलाई किन खबर गरिएन ?’

दुवै पक्षका परिवार बसेर केटा र केटीलाई सम्झाइ बुझाइ गर्नु पर्नेमा अपराधिक क्रियाकलापमा उत्रनु निन्दनीय रहेको अभिनेत्री वर्षाको भनाई छ । उमेरका कारण नवराज परिपक्व निर्णय लिन नसक्ने भए पनि त्यसको सजाय मृत्यु हो भन्दै उनले प्रश्न गरेकी छन् । जातीय विभेदका कारण आफूहरु २१औं शताब्दीमा छौं भन्न समेत लाज लाग्न थालेको वर्षा बताउँछिन् ।

उनले नवराज र उनका साथीहरुको हत्यामा संलग्नलाई गलत प्रमाण पेश गरेर उम्काउन नहुने बताउँदै दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेकी छन् । तर, उनलाई यो घटना निर्मला पन्तको झैं हुने त होइन भन्ने डर पनि छ । यद्यपि, उनी यो घटनाले न्याय पाउनेमा आशावादी छिन् । उनले जातीय विभेदको अन्त्यका लागि आवाज उठाउन पनि सबैलाई आह्वान गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu