गलत बुझाइ र आवेगले रुकुम घटना घट्यो : करिश्मा मानन्धर



पश्चिम रुकुममा भएको जातीय हिंसाको घटनाको निन्दा गर्दै अभिनेत्री करिश्मा मानन्धरले घटनाको सत्यतथ्य छानविन गर्न सम्बन्धित निकायसँग माग गरेकी छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले नेपाली समाजले जति नै समानताका कुरा गरे पनि सुषुप्त अवस्थामा जातीय विभेदको रोग टाँसिएर बसेको बताएकी छन् । यसलाई उनी मानिसले चलाएको कुरिती मान्छिन् ।

रुकुम घटनाको बारेमा आफ्नो विचार राख्दै करिश्माले लेखेकी छन्, ‘मेरो विचारमा घटना अपरिपक्व किशोर र किशोरीको सम्बन्धका कारण भयो । उनीहरु त ल उमेरका कारण सही निर्णय लिनसक्ने अवस्थामा थिएनन् तर गाउँका अरुबाट यस्तो त्रुटी कसरी हुन गयो ? आफ्ना केटाकेटीहरु के क्रियाकलाप गर्दैछन् अभिभावकले दिनुपर्ने ध्यान कम भएको हो कि ?’

अभिभावकले आफ्ना सन्तान कहाँ गए, कसकोमा बसे, घर आए कि आएनन् भनेर ध्यान दिन कमी भएको हुनसक्ने उल्लेख गर्दै अभिनेत्री मानन्धरले अगाडि थप्दै लेखेकी छन्, ‘बच्चा नाबालिक भनेर मात्रै भएन नी, नाबालकले के गर्दैछ त्यो पनि हेर्नुपर्‍यो । कहिलेकाहिँ कस्तो हुन्छ भने यदी बच्चाहरु बुझ्न चाहँदैनन भने परिस्थितिलाई सहज पार्न ठूलोबडाले सम्यमता अपनाउनु पर्छ ।’

गलत बुझाइ, आवेग, केटाहरूको अतंकित मनस्थिति र गाउँलेहरुले गुमाएको मानसिक सम्यमताका कारण रुकुम घटना घटेको अभिनेत्री मानन्धरको निष्कर्ष छ । उक्त घटना घट्नुको अर्को कारण अभिभावकले आफ्ना बच्चालाई के गलत के सही भनेर बुझाउन नसक्नु पनि रहेको उनको तर्क छ । आफ्ना सन्तानलाई संस्कार दिनु अभिभावकको कर्तव्य रहेको उनी बताउँछिन् ।

‘घर परिवार, केटाकेटीको पहिलो स्कुल हो । परिस्थिति बुझाउन नसक्दा त्यतिका बच्चाहरुको ज्यान गयो । कसैको ज्यान लिने कसैको अधिकार छैन । त्यसैले घटनाका दोषीहरुलार्ई कडा कारबाही हुनुपर्छ,’ अभिनेत्री करिश्माले लेखेकी छन् । उनले लेखेको स्टाटसमा अभिनेत्री विपना थापादेखि हास्यकलाकार किरण केसीसम्मले ‘सत्य कुरा’ भन्दै प्रतिक्रया जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu